केन्द्रले यस वर्ष वीरगन्ज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा दिएको कुशवाह बताउँछन् । यस भेगका किसानले बल्ल धान बाली भित्र्याएकाले यस वर्ष खरिद केही ढिलो सुरु गरिएको उनले बताए ।
What you should know
पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिदका लागि मंगलबारदेखि किसानलाई टोकन वितरण गर्न लागेको छ । शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहले किसानले धान बिक्री गर्न पालो कुर्न नपरोस् तथा किसानले व्यवस्थित रूपमा धान बिक्री गर्न पाऊन् भनेर यो उपाय अपनाइएको बताए ।
प्रत्येक किसानलाई ३५ देखि ४० क्विन्टल धानको टोकन दिइने उनले बताए । ‘इच्छुक किसानले कम्पनीलाई धान बिक्री गर्न पाऊन् भनेर किसानबाट धान खरिदको पनि सीमा निर्धारण गरेका हौं,’ उनले भने, ‘टोकन पाउन किसानले सम्बन्धित पालिकाको कृषि शाखाबाट अनिवार्य रूपमा सिफारिस लिएर आउनु पर्ने प्रावधान राखिएको छ ।’
केन्द्रले यस वर्ष वीरगन्ज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा दिएको कुशवाह बताउँछन् । यस भेगका किसानले बल्ल धान बाली भित्र्याएकाले यस वर्ष खरिद केही ढिलो सुरु गरिएको उनले बताए ।
यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गर्ने योजना बनाएको कुशवाह बताउँछन् । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गर्न लागेको हो ।
गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न आएनन् । गत वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको लक्ष्य शाखाको थियो । तर बर्सेनि जिरा मसिनो धान खरिदको कोटा छुट्याइने गरे पनि किसानले यो धान नल्याउने भएकाले यस वर्ष सोना मन्सुली धान मात्रै खरिद गर्नेतर्फ ध्यान केन्द्रित गरिने उनले बताए ।
सामान्यतया खाद्यले धान खरिद सुरु गर्नुअघि यस भेगमा निजी क्षेत्रले धान खरिद सुरु गरिसक्छन् । निजी क्षेत्रले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी मूल्य दिन थालेपछि किसानले खाद्यलाई भन्दा निजी क्षेत्रलाई धान बिक्री गर्दै आएका छन् ।
