आजबाट नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द

मंसिर २४ गतेदेखि सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते काम रोकेर सडक खुलाइएको थियो।

मंसिर २८, २०८२

विमल खतिवडा

Nagdhunga-Naubise-Malekhu road section to be closed for five hours daily from today

What you should know

काठमाडौँ — आजबाट पुस १ गतेसम्म नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्रे गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो ।

मंसिर २४ गतेदेखि सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते सडक खोल्ने निर्णय गरिएको थियो ।

एमालेनिकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर केही दिन सडक बन्द नगर्न आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रेको काम रोकेर सडक खोलिएको थियो ।

उक्त सडकको काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्रे गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेको छ । त्यसैले उक्त खण्ड अन्यत्रभन्दा साँघुरो रहेको र कालोपत्रेका लागि एकै पटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । उनका अनुसार अब पूर्वनिर्धारित तालिकाअनुसार नै सडक बन्द गरेर काम गरिनेछ ।

अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभीर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भएकाले नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म यातायात आवागमन बन्द गर्न लागिएको हो । उक्त समयावधिभित्र वैकल्पिक सडक मार्ग प्रयोग गर्न यात्रु तथा चालकलाई आयोजना कार्यालयले अनुरोध गरेको छ ।

अत्यावश्यक प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन, दमकल र शववाहनजस्ता सवारीसाधनका हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा तथा मुग्लिनबाट काठमाडौँ आउने सवारीसाधन खानीखोला, नौबिसे, जंगेखोला र थाक्रेमा रोक्ने गरी स्थान तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिनेछन् । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखुमा रोक्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ ।

यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा–धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशूली पुलबाट त्रिशूलीपारिको बाटो हुँदै घाटबेसीको त्रिशूली पुल प्रयोग गरी वैकल्पिक मार्ग अपनाउन सकिने ट्राफिक प्रहरीको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully