गत आर्थिक वर्ष ४ महिनामा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।
What you should know
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ करोड ६८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार १ लाख १ हजार ३१९ किलो अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका, इटाली, जापान, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।
सबैभन्दा बढी दक्षिण कोरियामा १ करोड २५ लाख ३६ हजार, अस्ट्रेलियामा १ करोड १३ लाख १९ हजार रुपैयाँको अचार निर्यात भएको छ । सबैभन्दा कम मलेसियामा ३ लाख ५५ हजार रुपैयाँको अचार निर्यात भएको छ भने डेनमार्कमा ४ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।
गत वर्ष नेपालले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, क्यानडा, बेल्जियम, बेलायत, डेनमार्क, कोरिया र मलेसियामा अचार निर्यात गरेको थियो । सबैभन्दा बढी अस्ट्रेलियामा ३ करोड ४ लाख ४० हजार र सबैभन्दा कम मलेसियामा ५ लाख ५६ हजार रुपैयाँको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षभर १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात गरेको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै भन्सार विभागले अचार आयात र निर्यातको तथ्यांक राख्न थालेको हो । उक्त वर्ष ३९ लाख २२ हजार रुपैयाँको अचार निर्यात गरेको थियो । कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ । स्वदेशमै उत्पादित विभिन्न ब्रान्डका अचार विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय बन्दै गएका छन् । यसैका कारण नेपाली अचारको माग विदेशमा बढेको हो ।
