इको पहिरो नियन्त्रणको काम दुई महिनाभित्र सुरु गर्ने सहमति
What you should know
सिन्धुपाल्चोक — जिल्लाको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ‘इको’ पहिरो नियन्त्रणका विषयमा सहमति जुटेसँगै आठ दिनदेखि अवरुद्ध तातोपानी नाका तथा कोदारी राजमार्ग सञ्चालनमा आएको छ ।
स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच दुई महिनाभित्र पहिरो नियन्त्रणको काम सुरु गर्ने सहमतिपछि सडक अवरोध हटेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बिहीबार र शुक्रबार स्थानीयसँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको बाटो खोलेका थिए । स्थानीयले इको पहिरोबाट बस्ती जोखिममा परेको भन्दै माग सम्बोधनको दबाबस्वरूप २० मंसिरदेखि सडक अवरुद्ध गरेका थिए ।
अवरुद्ध सडक खुलेपछि खासामा रोकिएका मालबाहक कन्टेनर लिपिङ हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा भएको वार्तापछि सहमति बनेको र त्यसकै आधारमा नाका सञ्चालनमा आएको उनले बताए । '६० दिनभित्र निर्माण सुरु गर्ने सहमति भएको छ,' उनले भने ।
इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रुपैयाँ विनियोजन भई ठेक्का आह्वानसमेत भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । 'ठेक्का सम्झौता गरेर दुई महिनाभित्र काम सुरु गर्छौं,' डिभिजन प्रमुख भण्डारीले भने । पहिरोमाथि रहेको मानव बस्ती जोगाउन आवश्यक सबै उपाय अपनाइने उनको भनाइ छ । यद्यपि भौगोलिक विकटताका कारण सबै जिम्मेवारी एकैपटक लिन कठिन रहेको उनले स्पष्ट पारे ।
सडक बन्द हुँदा खासामा रोकिएका कन्टेनरभित्रको स्याउ कुहिन थालेको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् । सडक खुले पनि चिनियाँ पक्षबाट मालबाहक कन्टेनर नियमित रूपमा पास हुन्छन् कि हुँदैनन् भन्ने अनिश्चितताले व्यापारीहरु अझै सशंकित छन् ।
स्थानीय सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय कोदारी राजमार्ग सञ्चालन गर्ने सहमति कायम रहेकाले अब निर्माण सुरु भएसँगै दीर्घकालीन समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।
