बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन बागमती र गण्डकी प्रदेश सरकारको तर्फबाट संयुक्त रूपमा पहल थाल्ने बताए ।

मंसिर २६, २०८२

हरिराम उप्रेती

We will take initiative to complete the work of Budhi Gandaki Hydropower Project quickly: Chief Minister Pandey

गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जतिसक्दो छिटो बुढीगण्डकी जलविद्युत् आयोजनाको काम थाल्नुपर्ने बताएका छन् । 

शुक्रबार भिमसेन थापा गाउँपालिकास्थित जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बुढीगण्डकी आयोजनाले मूर्त रूप लिन नसकेको भन्दै चिन्ता जनाए ।

संघ सरकारसँग राष्ट्रिय समन्वय परिषद्को बैठक र राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पनि आयोजनाको बारेमा पटक/पटक कुरा उठाएको उनले बताए । ‘बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि कुरा भएको छ, अब आयोजना सम्पन्न गर्न सबैको ध्यानाकर्षणका लागि गण्डकी र बागमती प्रदेश तथा डुबान क्षेत्रमा पर्ने स्थानीय सरकारको सरकारको संयुक्त बैठक बसेर संघ सरकारसँग आयोजना छिटो सम्पन्न गर्न पहल गर्छौँ,’ उनले भने ।

आयोजना निर्माण भए धादिङ र गोरखाका जनताको आयआर्जनमा पनि गुणात्मक परिवर्तन आउने उनले बताए । ‘विद्युत् मात्र नभएर पर्यटन सहित नयाँ खालको आयोजना बन्छ, यसले धेरै कुरा समेट्छ आर्थिक स्थिति नै कायापलट हुन सक्ने अवस्था छ,’  उनले भने,‘छिटो भन्दा छिटो यसलाई सम्पन्न गर्न दुई प्रदेशको संयुक्त सरकारको तर्फबाट संघ सरकारसँग पहल गर्छौँ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully