निर्माणाधीन दुधौरा पुलको निरीक्षणमा मन्त्री घिसिङ, निर्माण व्यवसायीले भने : पुसभित्रै बनाइसक्छौँ

मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Minister Ghising inspects under-construction Dudhaura Bridge, construction entrepreneurs say: We will complete it within December

What you should know

काठमाडौँ — पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।

मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । 

मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । पुलनजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्नेसमेत उनको भनाइ थियो । 

पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए । 

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थपबमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

कान्तिपुर

Link copied successfully