६० प्रकारका मौलिक रैथाने खानाहरू समेटिएको ‘फुड बुक’सार्वजनिक हुँदै
What you should know
काठमाडौँ — होटल संघ नेपाल (हान) स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा संघले आगामी २०८२ माघ २ गते काठमाडौंमा भव्य रूपमा हिरक जयन्ती मनाउने घोषणा गरेको छ। कार्यक्रममा नेपालका होटल तथा पर्यटन क्षेत्रमा विगतदेखि अहिलेसम्म देखिएका सफलता, सम्भावना र चुनौतीबारे विशेष छलफल गरिनेछ।
यसै अवसरमा विगत दुई वर्षदेखि मनाइँदै आएको सत्कार दिवस पनि समावेश हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माघ २ र ३ गते हुने दुईदिने होटल एक्स्पो–२०२६ मा होटल व्यवसायका लागि आवश्यक ५० भन्दा बढी सामग्री तथा सेवाहरुका स्टल रहने छन्। विभिन्न कम्पनीहरूले पनि कार्यक्रममा प्रायोजकको भूमिका निर्वाह गर्नेछन्।
‘टेक पावर्ड हस्पिटालिटी’भन्ने मुख्य विषयवस्तुमा आधारित एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले आधुनिक आतिथ्य उद्योगमा प्रयोग भइरहेका अटोमेशन, एआई, प्रविधिमैत्री व्यवसाय सञ्चालन र नयाँ अभ्यासहरूबारे अनुभव साझेदारी गर्ने जनाइएको छ।
कार्यक्रमकै क्रममा नेपास होटल एयर बुक र सातै प्रदेशबाट संकलित ६० प्रकारका मौलिक रैथाने खानाहरू समेटिएको ‘फुड बुक’सार्वजनिक गरिनेछ। सहभागी स्वदेशी तथा विदेशी पाहुनालाई यीनै नेपाली परिकारहरूबाट सत्कार गरिने हानले जनाएको छ।
समारोहमा नेपालका होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, रोजगारी सृजना, र हाल देशभर तीव्र गतिमा खुलिरहेका ठूलो पूँजीका होटलहरूको प्रभावबारे चर्चा गरिनेछ। अन्तर्राष्ट्रिय चेन ब्रान्डहरूको उपस्थितिले नेपालको पर्यटन आकर्षण थप बाँड्दै गएको संघको भनाइ छ।
कार्यक्रमले सातै प्रदेशमा पर्यटन सक्रिय बनाउन र नयाँ गन्तव्य विकासमा सहयोग पुर्याउने हानको विश्वास छ। होटल र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रम सफल बनाउनका लागि हानले विभिन्न संघ–संस्थालाई सहकार्यका लागि अपिल गरेको छ।
हान सन् १९६६ मा आठवटा होटलका साथ स्थापना भएको गैर–नाफामूलक संस्था हो। सुरुवाती दशकमा नेपालमा उद्योगधन्दा न्यून भएको समय हानले पर्यटन नीतिनिर्माण, सरकारी नियमन तथा आतिथ्य उद्योगको सामाजिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
१९७०–८० को दशकलाई नेपाल पर्यटन क्षेत्रको तेज विस्तारको समय मानिन्छ। यसै अवधिमा काठमाडौंबाहिर पोखरा, चितवन लगायतका स्थानमा पनि स्टार–रेटेड होटलहरूको संख्या बढ्दै गएको थियो ।
हानले देशको पर्यटन विकासमा निजी क्षेत्रको नेतृत्वको उदाहरण प्रस्तुत गर्दै, यात्रा तथा ट्रेकिङ व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुर्यायो। १९८० पछि उभिएको बोर्डरलेस वर्ड को अवधारणाले अन्तर्राष्ट्रिय व्यापार र यात्रुलाई नयाँ उचाइमा पुर्याएपछि नेपालले समेत यसको प्रत्यक्ष फाइदा पाउन थालेको थियो ।
आज हान देशभर फैलिएको होटल उद्योगको प्रतिनिधि संस्थाका रूपमा नेपाल पर्यटनको विकास, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय मानकको प्रवर्द्धनमा निरन्तर सक्रिय छ।
