प्रदर्शनमा साढे ८४ अर्बको क्षति, पुनर्निर्माणमा सवा ३६ अर्ब लाग्ने

कुल क्षतिमध्ये सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ भने निजीको ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रका ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ क्षति भएको छ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

84.5 billion rupees damaged in protests, 36.5 billion rupees needed for reconstruction

What you should know

काठमाडौँ — गत २३ भदौको जेन–जी आन्दोलन र २४ मा तोडफोड, लुटपाट र आगजनीका क्रममा साढे ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले औंल्याएको छ । 

जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले बिहीबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।

समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरणसमेत गरे । प्रदर्शनमा २ हजार १ सय ६८ निकाय एवं संस्था प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये २ हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ । त्यो क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर छ ।

प्रदर्शनमा १२ हजार ६ सय ५९ सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । कुल क्षतिमध्ये सरकारी एवं सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख, निजी क्षेत्रको ३३ अर्ब ५४ करोड ८७ लाख, सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको प्रतिवेदनले औंल्याएको छ । कुल सरकारी क्षतिमध्ये संघीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ ।

 समितिले पुनर्निर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत ५ असोजमा यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा प्रतिवेदन बुझाएको हो ।

समितिका अनुसार जेन–जी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २ सय ६२ छन् । यही समितिले संकलन गरेको विवरण (लस एन्ड ड्यामेज एसेसमेन्ट) अनुसार देशभर आन्दोलनबाट करिब साढे ८४ अर्बको क्षति भएको प्रारम्भिक अनुमान आएको हो । 

निजी क्षेत्रले ८० अर्ब रुपैयाँ बराबरको सम्पत्ति प्रभावित भएको र त्यसमध्ये ३८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति पूर्ण क्षति भएको जनाएको थियो । सरकारी अधिकारीहरूले पनि करिब १ सय अर्ब बराबरको क्षति भएको पूर्वानुमान गरेका थिए । तर सरकारी अनुमानभन्दा करिब १६ अर्ब कम क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको हो ।

कान्तिपुर

Link copied successfully