घर जलेर आहत भएको बेला अदालतको आदेशले राहत पाएँ : शाक्य

हितेन्द्रदेव शाक्य भन्छन् : 'प्रतिशोध साध्ने किसिमले म गएको छैन । पहिला पनि मलाई हटाइयो भनेर अदालत गएँ । यसपटक पनि हटाइयो भनेर नै अदालत गएँ । हटाएपछि न्याय माग्‍न जानु पनि गलत हुन्छ र ?'

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

I got relief from the court order when my house was burnt down: Shakya

काठमाडौँ — सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् ।

शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक सुनुवाइ भएको छ । ढिलो भए पनि न्याय पाइन्छ भन्ने अनुभव भएको छ ।'

ढिलो भए पनि न्याय पाएको शाक्यले बताए । 'अहिलेको पटकमा जेन-जी प्रदर्शनका क्रममा मेरो घर जलाइयो । घर जल्नु पर्ने व्यक्ति पनि होइन,' उनले भने, 'यस्तो आहत भएको समयमा अदालतको फैसलाले न्याय दिएको छ । खु्ट्टा टेक्ने आधार दिएको छ ।'

घर जलेपछि घरबास नभएको आहत भएको अवस्थामा जागिर पनि खुस्किएको उनले स्मरण गरे । यो पृष्ठभूमिमा अदालतको पदबहालीको आदेशले थोरै राहत महसुस भएको शाक्यले बताए । 

'अदालतको निर्णयअनुसार नै म प्राधिकरणमा जान्छु, म सधैं रिक्त पदमा गएको हो,' उनले भने, 'प्रतिशोध साध्ने किसिमले म गएको छैन । पहिला पनि मलाई हटाइयो भनेर अदालत गएँ । यसपटक पनि हटाइयो भनेर नै अदालत गएँ । हटाएपछि न्याय माग्‍न जानु पनि गलत हुन्छ र ?'

उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा शाक्यलाई गत असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर जल तथा उर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully