सडक विभागका महानिर्देशक विजय जैसी भन्छन् : ‘कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन । कतिपयको सबै रुग्ण भएको छ । अब निर्माण व्यवसायीहरू पनि स्मार्ट हुनुपर्छ ।’
काठमाडौँ — सडक विभागका महानिर्देशक विजय जैसीले निर्माण कम्पनीहरूलाई काममा मोबिलाइज हुन आग्रह गरेका छन् । अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनको भनाइ छ ।
नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘रहरले ठेक्का तोडिएको होइन । अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो । यद्यपि, तपाईंहरू काममा मोबिलाइज हुनुस । अहिले काममा निर्माण कम्पनी मोबिलाइज भएको पनि देखिएको छ,’ उनले भने, ‘ल इज ल । अब मायाले हुँदैन । सबै काममा लागौं ।’
उनले कतिपय कम्पनीले बोनस पनि खाइरहेको बताए । ‘कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन । कतिपयको सबै रुग्ण ठेक्का भएको छ,’ उनले भने, ‘अब निर्माण व्यवसायीहरू पनि स्मार्ट हुनुपर्छ ।’
