बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक ५ घन्टा बन्द हुने

कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो ।

मंसिर २१, २०८२

विमल खतिवडा

Nagdhunga-Naubise-Malekhu road section to be closed for 5 hours daily from Wednesday

What you should know

काठमाडौँ — आगामी बुधबारदेखि नागढुंगा–नौबिसे मलेखु सडक खण्ड दैनिक ५ घन्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रुपमा सडक बन्द गर्न लागिएको हो ।

उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकताका राखेको छ । त्यसैले उक्त खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

उनका अनुसार धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने हुँदा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ ।

अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनायो ।

यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रुपमा प्रयोग सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully