चार देशको यात्रापछि काठमाडौंमा अवतरण गरेका पर्यटकले नेपाली सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलहरूको अवलोकन गर्नेछन् ।
What you should know
काठमाडौँ — नेपालमा जेन-जी आन्दोलनपछिको अस्थिरताबीच आज बेलायतको टाइन एयरवेजको चार्टर विमान एयरबसमार्फत ६५ जना अमेरिकी पर्यटक काठमाडौं उत्रिएका छन् ।
उनीहरु भुटानबाट आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। त्यसभन्दा पहिले उनीहरुको चार्टर विमान आइतबार अमेरिकाको हवाई राज्यको कोना अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रशान्त महासागरस्थित गुआमको हागात्ना पुगेको थियो। त्यसपछि उनीहरु सोमबार थाइल्यान्डको चियाङ माई आएका थिए । थाइल्यान्डमा चार्टर विमान छाडेर उनीहरु मंगलबार कम्बोडिया हुँदै भुटान पुगेका थिए । भुटानबाट आइतबार बिहान भुटान एयरलान्सको विमानमा काठमाडौं उत्रिएका हुन् ।
भुटानको हिमाली विमानस्थल पारोमा रनवे सानो र ‘लोड–रेस्ट्रिक्सन’का कारण एयरबसका ए३२१ जस्ता ठूला जेट विमानको नियमित अवतरण सम्भावना निकै न्यून हुन्छ। त्यसैले, चार्टर टुरमा रहेका पर्यटकले थाइल्यान्डबाट कम्बोडिया, भुटान र नेपालका विमानस्थल प्रयोग गर्नुपरेको हो । उक्त विमान भने आज दिउँसो ४ बजे थाइल्यान्डबाट २ जना मात्रै यात्रु राखेर काठमाडौं अवतरण हुँदै छ ।
कम्बोडिया र भुटान हुँदै आएको उनीहरूको समूहको नेपाल भ्रमणमा व्यवस्थापन गर्दै आएको पर्यटन कम्पनी यति होलिडेजका अनुसार उनीहरू सोमबार काठमाडौंबाट दुबई फर्कने तय भएको छ ।
यी पर्यटक काठमाडौंमा बस्नका लागि सांस्कृतिक सम्पदा र परम्परागत नेपाली वास्तुकलालाई समेटिएको प्रिसिद्ध पाँच–तारे बुटिक होटल द्धारिका छनोट गरिएको छ। भ्रमण कार्यक्रमअनुसार उनीहरूले पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र लगायत नेपालको प्राचीन सहर तथा सांस्कृतिक केन्द्र अवलोकन गर्नेछन्।
यति होलिडेजको अनुमानअनुसार यी ६५ जना अमेरिकी पर्यटकले प्रत्येकले नेपाल बसाइमा करिब ५०० अमेरिकी डलर खर्च गर्नेछन् । जसअनुसार नेपाल बसाइका लागि कुल खर्च करिब ६६ हजार हाराहारी नेपाली रुपैयाँ प्रति व्यक्ति पर्छ।
यति होलिडेजले केही महिनाअघि पनि नेसनल जियोग्राफी परिवारलाई विशेष चार्टर टुरमार्फत पर्यटक नेपाल ल्याएको थियो ।
पर्यटन व्यवसायीहरुका अनुसार, नेपालमा पछिल्ला वर्ष वार्षिक हाई-इन्ड पर्यटकका ३/५ चार्टर उडान हुन्छन् । एसियाली मुलुकहरुमा हुने चार्टर टुरको तुलनामा यो अत्यधिक थोरै हो ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतमका अनुसार चार्टर उडानमार्फत पर्यटक ल्याउने अभ्यास नेपालमा सन् १९५५ देखि सुरु भएको हो। उनी भन्छन्, ‘नेपाल हिमाल, संस्कृति, सम्पदा र मौलिकताका हिसाबले चार्टर–टुरका लागि उपयुक्त गन्तव्य हो।’ नेपालको हिमाली, सांस्कृतिक तथा ऐतिहासिक विविधतालाई ध्यानमा राख्दै, चार्टर–टुरमार्फत आउने पर्यटकले देशको पर्यटन बजारमा सकारात्मक प्रभाव पुर्याउने उनको भनाइ छ ।
