८ हजार मिटर अग्ला हिमालमा भएका ४२ वटा आरोहणमध्ये सगरमाथामा उनले ३१ पटक आरोहण गरिसकेका छन्।
What you should know
काठमाडौँ — नेपाली शेर्पा समुदायका अनुभवी उच्च–हिमाली आरोही तथा अल्पाइन गाइड कामीरिता शेर्पाले सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा माथिका हिमालहरूमा ४२ औँ पटक आरोहण पूरा गरेकोमा गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरेका छन्।
सोलुखुम्बुको थामेका ५५ वर्षीय कामीरिता संसारभरकै सर्वाधिक सगरमाथा आरोही पनि हुन्। ८ हजार मिटर अग्ला हिमालमा भएका ४२ वटा आरोहणमध्ये सगरमाथामा उनले ३१ पटक आरोहण गरिसकेका छन्।
२०२५ मे २७ मा उनले ३१ औँ पटक सगरमाथाको शिखर आरोहण गरेका थिए। सगरमाथाबाहेक उनले ८ हजार मिटर अग्ला मनास्लु, ल्होत्से, चोयू तथा पाकिस्तानको के–टु हिमाल आरोहण गरेका छन्।
उच्च हिमालको आरोहणमा हालै प्राप्त यो उपलब्धि नेपालको पर्वतारोहण इतिहासमा अर्को प्रतिष्ठित अध्याय बनेको छ। ‘कान्तिपुर’सँग बुधवार बिहान कुरा गर्दै रेकर्डधारी आरोही कामीरिताले यस उपलब्धिलाई ‘जीवनभरको समर्पण, कठोर मेहनत र शेर्पा समुदायको आत्मा’ को प्रतिफल बताए।
उनले यो सम्मान नेपाल, शेर्पा समुदाय, परिवार तथा समर्पण र नम्रतामा विश्वास गर्ने सबैका लागि अर्पित गरेको बताएका छन्।नेपालका अर्का विश्व प्रसिद्ध रेकर्डधारी निर्मल पुर्जा ‘निम्सदाइ’ पनि ८ हजार मिटर वर्गका हिमालहरूमा ऐतिहासिक उपलब्धिका लागि विश्वभर परिचित छन्। उनले सगरमाथासहित विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमालमा ५१ पटक आरोहणको कीर्तिमान बनाइसकेको जनाएका छन्।
यी दुई आरोहीहरूको उपलब्धिले नेपाललाई उच्च हिमाली साहस, दृढता र विश्व–स्तरीय पर्वतारोहण क्षमताको देश भनेर चिनाइरहेको छ। कामीरिताका अनुसार ४० पटकभन्दा कम आरोहण गरेका रेकर्डधारीमा पनि थुप्रै नेपाली शेर्पा छन्।
गिनिज वर्ल्ड रेकर्ड प्राप्त आरोही कामीरिताले आफ्नै हिमाल आरोहण यात्रा यतिमै नरोकिने जनाउँदै आगामी वसन्तकालीन याममा ३२ औँ पटकका लागि सगरमाथा आरोहणमा जाने बताए।
