निजी क्षेत्रसम्बद्ध बजेटका ७४ बुँदामध्ये २.४ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक–निजी क्षेत्र संवादका रूपमा ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक प्रतिवेदनले पहिलो त्रैमाससम्ममा समग्र प्रगति कमजोर रहेको देखाएको हो ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Only 2.4 percent of the 74 items of the private sector-related budget have been fully implemented

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७४ बुँदामध्ये २.४ प्रतिशत मात्र पूर्ण कार्यान्वयन भएको पाइएको छ । 

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक–निजी क्षेत्र संवादका रूपमा ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक प्रतिवेदनले पहिलो त्रैमाससम्ममा समग्र प्रगति कमजोर रहेको देखाएको हो ।

बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित ७४ बुँदामध्ये ५१ प्रतिशतमा शून्य, ४६ प्रतिशतमा आंशिक र २.४  प्रतिशतमा मात्र पूर्ण प्रगति भएको प्रतिवेदनले औंल्याएको छ । गत वर्षको पहिलो त्रैमाससम्ममा ४.८ प्रतिशत बुँदा पूर्ण कार्यान्वयनमा, ३८ प्रतिशत आंशिक र ५७ प्रतिशतमा शून्य प्रगति भएको थियो । 

चालु आर्थिक वर्षको बजेटमा उद्योग क्षेत्रका २७, ऊर्जा, पूर्वाधार, शहरी विकासका १४, पर्यटनका ९, लगानी तथा वित्तीय क्षेत्रका ८, कृषि तथा जडिबुटीका ७, सूचना प्रविधि तथा नवप्रवर्द्धनका ६ र शिक्षा तथा रोजगारीका ३ गरी ७४ बुँदा समेटिएका थिए ।

प्रतिवेदनकाअनुसार उद्योग क्षेत्रका २७ बुँदामध्ये १७ वटामा शून्य, ९ वटामा आंशिक र १ वटामामात्र पूर्ण प्रगति भएको छ । ऊर्जा, पूर्वाधार तथा सहरी विकासका १४ मध्ये एउटा गरी दुईवटा बुँदामा मात्र पूर्ण कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

देशको उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्वपूर्ण हुन्छ । वित्त नीति अर्थात् बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरु सहायक बन्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए ।

‘बजेटको सफल कार्यान्वयनले नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुन्छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण छ,’ उनले भने, ‘बजेटमा निजी क्षेत्रकोतर्फबाट नीतिगत सुझाव दिँदै आएका हुन्छौं । हाम्रा नीतिगत सुझावहरु बजेटमा समावेश पनि हुन्छन् । त्यसले हामीलाई उत्साह प्रदान गर्दछ । तर जब कार्यान्वयनको चरण आउाछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।’

समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उनको भनाइ छ । ‘औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी कार्यान्वयन आवश्यक छ । हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरुप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ । स्वदेशी उत्पादन बढाउन सकिएन भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौं ।’

विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक छ । आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक रहेको उनले बताए ।

हाम्रो जस्तै अर्थतन्त्र भएका मुलुकहरु आज हामीभन्दा धेरै अगाडि पुगिसकेको छन् । ती देशले किन र कसरी प्रगती हासिल गर्न सके भन्ने विषयलाई हाम्रा नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी हुन्छ । नीति स्थिर हुने, उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगिकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सकिने अध्यक्ष पाण्डेको भनाइ छ ।

कान्तिपुर

Link copied successfully