नेप्से सामान्य अंकले ऋणात्मक, कारोबार रकम पनि घट्यो

अघिल्लो दिनको तुलनामा ०.५३ अंकले घटेपछि समग्र नेप्से २ हजार ६ सय ४४.७० विन्दुमा ओर्लेको हो । 

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

NEPSE general index negative, trading volume also decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले ऋणात्मक भएर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.५३ अंकले घटेपछि समग्र नेप्से २ हजार ६ सय ४४.७० विन्दुमा ओर्लेको हो । 

आजको गिरावटसहित पछिल्लो तीन दिन यता नेप्से लगातार घटेको हो । जसअनुसार गत आइतबार नेप्से २६.५१, सोमबार ४.२८ र मंगलबार ०.५३ अंकले घटेको हो ।

सो दिन कारोबारमा आएकामध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्यो, ११९ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रहृयो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी कम भए पनि समग्र नेप्से झिनो अंकले ऋणात्मक अवस्थामा बन्द भएको हो ।

मंगलबार कुल ५६ हजार ९ पटकको सेयर कारोबारमा १ करोड ८ लाख १० हजार १ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा र लघुवित्तको परिसूचक घट्यो  । तर, बाँकी उपसमूहको परिसूचक सामान्य अंकले सकारात्मक रहेको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully