नेपालले सन् २०२५ को नोभेम्बरमा एसियन प्रोडक्टिभिटी अर्गनाइजेसनको सहकार्यमा ‘वेलनेस पर्यटन : प्याकेजिङ, मार्केटिङ, एक्रेडिटेसन तथा सर्टिफिकेसन’ विषयक पाँचदिने क्षमता अभिवृद्धि कार्यक्रम सोमबारदेखि देशभरका पर्यटन व्यवसायीबीच सुरु गरेको हो ।
What you should know
काठमाडौँ — वेलनेस केवल प्रवृत्ति होइन, जीवनदर्शन हो । र नेपाल यस दर्शनको प्राकृतिक जन्मभूमि हो । यही गहिरो अर्थ र सम्भावना बुझ्दै नेपालले सन् २०२५ को नोभेम्बरमा एसियन प्रोडक्टिभिटी अर्गनाइजेसनको सहकार्यमा ‘वेलनेस पर्यटन : प्याकेजिङ, मार्केटिङ, एक्रेडिटेसन तथा सर्टिफिकेसन’ विषयक पाँचदिने क्षमता अभिवृद्धि कार्यक्रम सोमबारदेखि देशभरका पर्यटन व्यवसायीबीच सुरु गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा ), नेसनल प्रोडक्टिभिटी एन्ड इकोनोमिक डेभलपमेन्ट सेन्टर र एपीओको संयुक्त आयोजनामा सुरु गरिएको यो कार्यक्रम नेपाललाई विश्वस्तरको वेलनेस गन्तव्य बनाउने ठूलो यात्राको सुरुवात मानिएको नाट्टाकी महासचिव युविका भण्डारीले बताइन् ।
नाट्टा अध्यक्ष कुमारमणि थपलियाले नेपालमा वेलनेस आयातित विषय नभई, हजारौं वर्षदेखि संस्कृति, परम्परा र दैनिकीमा मिसिएको जीवनपद्धति भएको बताए । उनका अनुसार, ध्यान र योगको मौलिक अभ्यास, आयुर्वेदिक जडीबुटी, हिमाली स्वच्छ वातावरण, धार्मिक–आध्यात्मिक चेतना र समुदायको आत्मीय आतिथ्य नेपालका प्राकृतिक शक्तिहरू हुन् । जसले दुनियाँका मानिसलाई आकर्षित गर्छन्। ती शक्तिलाई वैज्ञानिक, व्यवस्थापकीय र विश्वस्तरीय स्वरूपमा विकसित गरी प्रस्तुत गर्न सकियो भने नेपाल विश्व वेलनेस पर्यटन बजारमा मजबुत रूपमा उभिन सक्नेछ।
अस्ट्रेलियाकी वेलनेस पर्यटन विशेषज्ञ क्याथरिन ड्रोगा र शेरन कोल्का काठमाडौं आइपुगेपछि सोमबार पहिलो दिन सरकारी निकाय र व्यवसायीहरूसँग नीति र रणनीतिमाथि विस्तृत छलफल चलाइएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा अन्य नियमनकारी संस्थाहरूसँगको संवादले नेपालले वेलनेस पर्यटनलाई दीर्घकालीन पर्यटन रणनीतिमा कसरी जोड्न सक्छ भन्ने विषयमा छलफल गरेका थिए ।
पर्यटन उद्योगका प्रमुख संघ संस्थासँगको भेटघाटले वेलनेस क्षेत्रमा रहेका चुनौती, प्रशिक्षक अभाव, सेवा मापदण्ड र बजार तयारीबारे बहुआयामिक दृष्टिकोणमाथि छलफल चलाएका थिए ।
विदेशी प्रशिक्षकले सहभागीहरूलाई आयुर्वेद क्लिनिक, योग केन्द्र,स्पा तथा रिट्रिटहरूको अवलोकन पनि गराउँदै छन्। कार्यस्थलमै सिकाइने यो पद्धतिले नेपाली वेलनेस सेवाको वर्तमान स्वरूप, ग्राहक अनुभव, मूल्य निर्धारणदेखि सेवा सुधारका अवसरसम्म बुझ्ने अवसर दिने अपेक्षा गरिएको छ ।
