२०८०८१ मा ६ करोड लक्ष्य लिएकामा ७ करोड ९८ लाख ११ हजार र २०८१८२ मा ८ करोड लक्ष्य रहेकामा ८ करोड १३ लाख ७ हजार ६९ हजार राजस्व उठेको छ ।
What you should know
काठमाडौँ — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले लगातार २ आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०\८१ मा ६ करोड संकलनको लक्ष्य लिएकामा ७ करोड ९८ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८१\८२ मा ८ करोड लक्ष्य रहेकामा ८ करोड १३ लाख ७ हजार ६९ हजार सङ्कलन भएको थियो । हरेक वर्ष राजस्व बढ्दै गएपछि यस वर्ष १० करोड रुपैयाँ आन्तरिक आम्दानी सङ्कलन गर्ने नगरपालिकाको लक्ष्य छ ।
चालु आर्थिक वर्षको मंसिर १३ गते सम्म ३ करोड ५९ लाख ३६ हजार राजश्व राजस्व भइसकेको राजस्व शाखाका सहायक प्रशासकीय अधिकृत शारदा जीसीले बताइन् ।
राजस्व बढाउन नगरपालिकाले व्यवसाय दर्ता अभियान लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । गत आर्थिक वर्षमा घर नक्सा पासबाट मात्रै १ करोड ५८ लाख ३९ हजार ९ सय ६१ रुपैयाँ सङ्कलन भएको थियो । दर्ता नभएका व्यवसाय दर्ता गर्ने, घर भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने लगायतका प्रावधानबारे सचेतना फैलाएपछि राजस्व बढ्दै गएको जीसीको भनाइ छ ।
घर बहाल कर, खोला ठेक्का लाग्न नसक्दा, नदीजन्य पदार्थको चोरी निकासीबाट हुने राजस्व चुहावट, साना व्यवसायी र सामुदायिक वनबाट आउने १० प्रतिशत रकम दाखिला हुन नसक्दा भने राजस्व सङ्कलन प्रभावित हुँदै आएको छ ।
