साउनयता मनास्लु क्षेत्रमा साढे ८ हजार पर्यटक

मनास्लु भ्रमणको सिजन मानिने कात्तिकमा मात्र ४२ सय ४७ पर्यटकले भ्रमण गरे ।

मंसिर १३, २०८२

हरिराम उप्रेती

8,500 tourists in Manaslu region since Shrawan

What you should know

गोरखा — चार महिनाको अवधिमा ८ हजार ५ सय ४४ पर्यटकले मनास्लु भ्रमण गरेका छन् ।

मनास्लु भ्रमणको उपयुक्त समय मानिने कात्तिकमा मात्र ४ हजार २ सय ४७ विदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेका हुन् । 

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) प्रमुख सन्तोष शेरचनले यो वर्ष अनुमति लिएरै १ सय ४२ नेपाली पर्यटकले पनि मनास्लु क्षेत्रको भ्रमण गरेको बताए ।

पछिल्लो समय मनास्लु क्षेत्र भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा पनि बढेको छ । एमक्यापले विदेशी पर्यटकको मात्र अभिलेख राख्दै आएको छ । एमक्यापको तथ्यांक अनुसार गएको साउनमा ७६, भदौमा ७ सय ७९ र असोजमा ३ हजार ४ सय ४२ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । 

गत आर्थिक वर्ष २०८१/०८२ मा १२ हजार ५ सय १२ जनाले मनास्लु भ्रमण गरेका थिए । ‘गत वर्ष भन्दा मनास्लु क्षेत्र भ्रमण गर्नेको संख्या बढ्छ,’ शेरचनले भने,‘सडकसञ्जाल बिस्तार भइनसकेकाले ट्रेक गर्ने पर्यटकको रोजाईमा पर्दै आएको छ ।’  

निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुल्ला गरेपछि साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटकको रोजइमा पर्ने गरेको छ । जैविक विविधता र प्राकृतिक भू–बनोटको हिसाबले सुन्दर भएकाले मनास्लु क्षेत्रमा पर्यटकको संख्यामा वर्षेनी बृद्धि हुँदै गएको शेरचनले बताए ।

यहाँ आएका पर्यटकले चुम र नुब्री भ्याली तथा लार्के पासको भ्रमण पनि गर्छन् । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिती, हिमश्रृखला, सांस्कृतिक मठमन्दिर र गुम्बा पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । मार्च, अप्रिल र मे तथा अक्टुबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully