निगमको ४५औं महाप्रबन्धकका लागि १६ जनाको आवेदन

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिसका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली संयोजकत्वको समितिले तीन जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनुपर्नेछ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

16 people apply for the position of 45th General Manager of the Corporation

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगमको महाप्रबन्धका लागि १६ जनाको आवेदन परेको छ । पाइलट, इन्जिनियर, व्यवस्थापक लगायतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन बुझाएका हुन् ।

मन्त्रालयका अनुसार आवेदन बुझाउनेहरुमा पाइलटहरु दिपुराज जुआर्चन, वेदप्रकाश उप्रेती, एरोनटिकल इन्जिनियर दीपकप्रसाद बास्तोला, अभिनव कार्की छन् । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत एटीसी सन्तुष्टकुमार बस्नेत र सञ्जय कुमारले पनि महाप्रबन्धकका लागि आवेदन दिएका छन् । निगम र प्राधिकरणबाहिरबाट भीमबहादुर चन्द, विष्णुबाबु मिश्र, चिरञ्जीवी उपाध्याय, उपेन्द्रबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, योगराज कँडेल, आशिष थापा, रधुनाथ बिडारी, टंकनिधि दाहाल र सुमन भट्टराईको पनि आवेदन परेको छ ।

२०७९ जेठमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश) लाई बर्खास्त गरेपछी निगम व्यवस्थापन सञ्चालन कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट थालिएको थियो । पौडेललाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ०७७ असोजमा महाप्रबन्धकमा नियुक्ति दिएका थिए । उनी हटेसँगै साढे ३ वर्षयता निगमको महाप्रबन्धक पद रिक्त थियो । सञ्चालक समिति र दैनिक व्यवस्थापनको जिम्मेवारी हेर्ने गरी नियुक्ति पाएका कार्यकारी अध्यक्ष अधिकारीको कार्यकाल कात्तिक ७ गते सकिएपछि निगम व्यवस्थापकविहीन छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिवको नेतृत्वमा महाप्रबन्धक छनोट समिति गठन गरेपछि मन्त्रालयले कात्तिक २७ मा महाप्रबन्धकका लागि आवेदन दिन १५ दिनको सूचना जारी गरेको थियो । आवदेन दिने समय बिहीबार सकिएको छ ।

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिसका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली संयोजकत्वको समितिले तीन जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनुपर्नेछ । तीमध्येबाट सरकारले चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गर्नेछ । हाल कामकाज चलाउनका प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समितिका उपाध्यक्ष विक्रम राईलाई सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकमा नियुक्ति गरेकी छन् । अर्को व्यवस्था नभएसम्मका लागि हालै नियुक्त भएका श्रेष्ठ निगमको ४४ औं महाप्रबन्धक हुन् ।

कान्तिपुर

Link copied successfully