श्रमिक-कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन निजी क्षेत्रलाई पनि आग्रह
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नरहेको बताएकी छिन् । आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्य रहेको जिकिर गरिन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयनबाटै हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र आजको नारामा उल्लेख भएअनुसार समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले आफ्ना श्रमिक–कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन निजी क्षेत्रलाई पनि आग्रह गरिन् ।
दिन प्रतिदिन आकार बढ्दै गएको कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गम्भीरतापूर्वक अहिले नै गृहकार्य गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
