सामाजिक सुरक्षा कोष र ११४ ओटा पालिकाबिच एमओयू

कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

MoU between Social Security Fund and 114 municipalities

काठमाडौँ — समाजिक सुरक्षा कोषमा श्रमिकहरुको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू भइसकेको छ । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको बताए ।

सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको बताए । 

आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिम मुद्दती खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । कार्यकारी निर्देशकका अनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरिएको छ ।

त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको अधिकारीले बताए । 

कान्तिपुर

Link copied successfully