अलैंची रोप्न, सिँचाइ गर्न, भण्डारण र प्याकेजिङका लागि सहुलियत कर्जा पाए किसानले राम्रो मूल्य लिन सक्ने व्यवसायीहरुले बताए ।
What you should know
ताप्लेजुङ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग जिल्लाका उद्योगी व्यवसायीले सहुलियतपूर्ण कर्जा, अलैंचीमा लगानी वृद्धि, निजी बैंकहरूमा सुनचाँदी धितोको प्रबन्धजस्ता माग राखेका छन् ।
पूर्वी नेपालका पहाडी जिल्लाको आर्थिक समस्स्था बुझ्न इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका गभर्नर पौडेलसहितको टोलीसँग उद्योगी व्यवसायी अगुवा किसानले यस्तो विषय उठाएका हुन् । उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य व्यवसायी तारानाथ घिमिरेले सहुलियतपूर्ण व्यावसायिक कर्जा सहज रूपले पाउने वातावरणका लागि राष्ट्र बैंकले अग्रसरता लिनुपर्ने प्रस्ताव गरे । घिमिरेले कम लागतमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले निर्माणको काम चौपट भएको बताउँदै निर्माण व्यवसायीमा घटी दर (बिलो रेट) तोक्न राष्ट्रिय रुपमा छलफल हुनुपर्ने धारणा राखे ।
निर्माण व्यवसायी जसबहादुर लिम्बू र कालीबहादुर थेबेले बजेट अनुसारको मात्र बोलपत्र आह्वान गर्नुपर्ने प्रस्ताव गरे । काम लगाउने अनि भुक्तानी दिने समयमा बजेट छैन भन्ने प्रवृत्तिले निर्माण व्यवसायीको बदनाम भएको र निर्माणका काममा पनि नराम्ररी असर परेको दाबी गरे ।
अलैँची जोनका पूर्वअध्यक्ष दिनेश अधिकारीले अलैँचीको क्षेत्रमा लगानी बढाउन गभर्नरसँग माग गरे । कृषिजन्य उपजमा अहिले नेपालबाट सबैभन्दा बढी निर्यात हुने सूचीमा अलैंची रहेको स्मरण गराउँदै किसान र व्यवसायीलाई अनुदान र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ध्यानाकर्षण गराए । बैंकको ब्याजदरमा एकरूपता हुनुपर्ने उनको प्रस्ताव छ । अलैँची रोप्न, सिँचाइ गर्न, भण्डारण र प्याकेजिङका लागि सहुलियत कर्जा पाए किसानले राम्रो मूल्य लिन सक्ने उनको प्रस्ताव छ ।
ढाका कपडा उद्यमी शान्ति मादेनले कच्चा पदार्थको आयातका लागि साना उद्यमीलाई सहुलियत कर्जा आवश्यक रहेको बताइन् । आठराईत्रिवेणी गाउँपालिकाका अगुवा कृषक नन्दकुमार आङबुहाङले कृषि क्षेत्रमा आधुनिकीकरण भित्रिएको तर कृषकले खरिद गर्नै नसक्ने गरिको भएकाले सरकारको ध्यान जानुपर्ने उल्लेख गरे । उनले सबै व्यवसायीलाई व्यावसायिक पान नम्बर अनिवार्य गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।
पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका सजन पौडेलले सबैं बैंकलाई सुनचाँदी धितो राखेर कारोबार गर्ने अनुमति दिनुपर्ने प्रस्ताव गरे । ताप्लेजुङमा १४ वटा बैंक रहेको स्मरण गराउँदै नेपाल बैंकले मात्र सुनचाँदी धितो राखेर कारोबार गर्दा सर्वसाधारण नागरिकको पहुँचमा सेवा नपुगेको दाबी गरे ।
