घट्यो नेप्सेको वृद्धिदर

कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर मूल्य बढ्यो, १२५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

NEPSE growth rate decreased

What you should know

काठमाडौँ — अघिल्ला दुई कारोबार दिन उच्च अंकले बढेको नेप्सेको वृद्धिदरमा मंगलबार कमी आएको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेको छ । तर यो वृद्धिदर आइतबार र सोमबारको तुलनामा कम हो । आइतबार नेप्से करिब ४० र सोमबार करिब ५० अंकले बढेको थियो । दुई दिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार दिनभर ‘करेक्सन’ भएको र अन्तिम समयमा सामान्य अंकले बढेको हो ।

सोमबारको तुलनामा मंगलबार नेप्से ०.२० प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ५५.९९ अंकमा उक्लेर बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर मूल्य बढ्यो, १२५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै रहे पनि केही कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा समग्र नेप्से पाँच अंकले सकारात्मक बनेको हो । उक्त दिन कुल १ लाख २ हजार ६४२ पटकको सेयर कारोबारमा १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम सोमबार तुलनामा घटेको हो । सोमबार ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापारबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा वृद्धि भएको हो ।

झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको थियो । यस्तै, सागर डिस्ट्रिलरी, श्रीनगर एग्रिटेक, स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकारको सेयर मूल्य पनि उच्च अंकले बढेको छ । तर, जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने मंगलबार बन्दीपुर केबलकार सबैभन्दा अघि छ । यो कम्पनीको २६ करोड ९९ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully