शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले ऊर्जा क्षेत्रको विकासमा यस परियोजनाले नेपाललाई दक्षिण एसियामा नै अगाडि बढाउने बताए ।
What you should know
परासी — पश्चिम नवलपरासीको सुनवल–१३ सूर्य बस्तीमा एमसीए–नेपालको न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम सुरु भएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको आयोजनाको बुधबार अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले ऊर्जा क्षेत्रको विकासमा यस परियोजनाले नेपाललाई दक्षिण एसियामा नै अगाडि बढाउने बताए । ‘यो आयोजनाले नेपालको ऊर्जा व्यापार, औद्योगीकरणको विकासमा ठूलो टेवा पुर्याउने छ,’ खनालले भने, ‘यो नेपाल र अमेरिकाबीच भएको सबैभन्दा ठूलो विकास निर्माणको साझेदारी हो । दीर्घकालीन रूपमा नेपालको आर्थिक रूपमा सबल बनाउन यसले सहयोग पुग्नेछ ।’
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्प्सनले नेपाल र अमेरिकाको यो सहकार्यले नेपालको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउनेमा जोड दिए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो आयोजना नेपालको सबैभन्दा ठूलो भएकाले ऊर्जा व्यापार विस्तारमा नेपाललाई सहयोगी हुने बताएका थिए ।
१८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण हुन लागेको यस पूर्वाधार विकासले आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौता कार्यान्वयन गर्न सहज हुने अपेक्षा लिइएको छ । परियोजनाको दुई वर्ष समयावधि सकिएको र आगामी तीन वर्षभित्र एमसीएअन्तर्गतका सबै आयोजना सम्पन्न गर्नुपर्ने छ ।
