प्रतिविद्यार्थी वार्षिक ४ लाख ८० हजारसम्म खर्च बेहोर्ने, शैक्षिक वृत्ति पाउने २४ परिवारका ३२ बालबालिका
What you should know
काठमाडौँ — गोल्यान ग्रुपले जेन–जी आन्दोलनका सहिदका बालबालिकाको शिक्षाको लागि वार्षिक साढे १ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
ग्रुपले २४ सहिद परिवारका ३२ बालबालिकाका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च गर्ने गरी प्याकेज बनाएको जनाएको छ ।
२४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैरेले जानकारी दिइन् । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको छ । अन्य बालबालिकाको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् ।
त्रिपक्षीय सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर बेहोरिने बताइएको छ । सम्झौतापत्रमा गोल्यान ग्रुपका तर्फबाट ज्योति गैरे र बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक एवं बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन् ।
गोल्यान ग्रुपले शैक्षिक वृत्तिका लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,’ गैरेले भनिन्, ‘हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ ।’
सम्झौताअनुसार गोल्यान ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्नेछ ।
‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेसनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्यान ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’
गोल्यान ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरूको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत बेहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था÷संगठनबाट सिक्न सक्ने र त्यसबापतको रकम गोल्यान ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ ।
सहिद परिवारका बालबालिकाको शिक्षाको दायित्व लिने प्रतिवद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले जनाए । जेन–जी आन्दोलनका सहिदहरूको योगदानको कदरस्वरुप उनीहरूमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ छ ।
‘हामीले व्यवसायलाई प्रवद्र्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाकोठाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’
