सौराहामा १ अर्ब ७५ करोड लगानीमा रोयल टुलिप चितवन सञ्चालनमा

सुपेरिएर, डिलक्स, प्रिमियम रूम (पेट फ्रेन्डली), पुल भिला, वाटर भिला, मचान गरी ६५ वटा कोठा छन् ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Royal Tulip Chitwan opens in Sauraha with an investment of Rs 1.75 billion

What you should know

काठमाडौँ — सौराहामा पाँचतारे होटल रोयल टुलिप चितवन सञ्‍चालनमा आएको छ । फ्रान्सको लुभ्र होटल्स ग्रुपको ब्रान्ड रोयल टुलिप चितवनलाई केटीएम हस्पिटालिटीले सञ्चालन गरिररहेको छ ।

हेलिप्याडसमेत रहेको चार एकड क्षेत्रफलमा फैलिएको होटल परिसरभित्रै 'माझी घर' नाम राखि चौबीसै घण्टा खुला हुने रेस्टुराँ समेत छ । जहाँ होटलमा आएका पर्यटकदेखि बाहिरका पर्यटक पनि जान पाउने छ । रिसोर्ट क्षेत्रमा मात्रै  २०० भन्दा बढि प्रजातिका बोटबिरुवा रोपिएको समेत कम्पनीले जनाएको छ । 

स्थानीय आदिवासी थारू र माझी समुदायको संस्कृति र परम्पराबाट प्रेरित भएर रेस्टुराँको नाम माझीघर राखिएको छ । जहाँ खाना खान आउनेले आत्मीय वातावरणमा स्वादिला र स्वास्थ्यवर्द्धक परिकार खान पाइने छ । माझीघरमा स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय प्रभाव दुवैको मिश्रण रहने केटीएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह बताउँछन् ।

सुपेरिएर, डिलक्स, प्रिमियम रूम (पेट फ्रेन्डली), पुल भिला, वाटर भिला, मचान गरी ६५ वटा कोठा छन् । वाटर भिला-३ र पुल भिला-४ वटा छ । उक्त पाँचतारे रोयल टुलिपका कोठाको मूल्य १७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पर्नेछ ।  होटलमा ज्ञान सदन, ध्यान सदन, वेदा सदन गरि तीन वटा हलहरू छन् । जहाँ ५ सय जनाभन्दा बढी मानिस अटाउँछन् ।

प्लास्टिकजन्य वस्तु प्रयोग नगर्ने उद्देश्यले होटलले आफ्नै बोटल फ्याक्ट्री स्थापना गरेको छ । जहाँ दैनिक ७५० मिलिलिटरको ५०० वटा सिसाको बोटल उत्पादन गर्ने क्षमता छ । होटल परिसरमा स्विमिङ पुल, जकुजी, किड्स प्लेयिङ जोन, बोटिङ र फिसिङलगायत सुविधा छ ।  होटल परिसरमै थारू संस्कृति देखाउन हरेक दिन राती थारू कल्चरल सो हुनेछ ।

Royal Tulip Chitwan opens in Sauraha with an investment of Rs 1.75 billion

दिउँसोभन्दा रातिको समयमा बत्तीले होटललाई झकिझकाउ देखिने कम्पनीले जनाएको छ ।  होटलमा इन्डोर र आउटडोर गरी दुवै किसिमको डाइनिङको व्यवस्था गरिएको छ । 

सन् २०१९ मै होटल बनाउन सुरू गरिए पनि केही समय लागेको शाहले बताए । 'कोभिडअघि नै होटल बनाउन सुरु गरेका थियौं तर सञ्चालनमा आउन साढे ४ वर्ष लाग्यो,' उनले भने, 'औपचारिक रुपमा उद्घाटन गरेका छैनौं तर हाम्रो होटल सञ्चालनमा आइसकेको छ ।'

विदेशी पर्यटकसँगै नेपालबाट बाहिर घुम्न जाने पर्यटकलाईसमेत नेपालमै रोक्ने/ सौराहा ल्याउने योजना रहेको शाहले बताए । '२०६२/०६३ को आन्दोलनपछि जंगलभित्रका २/३ वटा बन्द भए । त्यसले गर्दा पर्यटकहरू सौराहा आउन रोकियो । त्यसलाई फेरि फिर्ता ल्याउने हाम्रो योजना हो,' उनले भने, 'पछिल्लो समय आन्तरिक पर्यटक बढ्दो छ । तर  बाह्य पर्यटकहरू आउने क्रम अस्थिर छन् ।'

काठमाडौंदेखि ४ घण्टामा आइपुगिने भन्दै नजिकै अस्पताल‍, सहरसमेत रहेको उनले बताए । 'आफै प्लेन चार्टड गरी आउने पर्यटकका लागि हेलिप्याड पनि निर्माण गरेका छौं,' उनले भने, ' भरतपुर विमानस्थलबाट आउँदा पनि २० मिनेट लाग्छ । सडक र हवाई जुनसुकै मार्गबाट आउँदा पनि सहज हुनेछ ।'

होटललाई  अपांगतामैत्री समेत बनाएको उनले बताए । 'हामीले होटललाई अपागंतामैत्री बनाएका छौं, उहाँहरुलाई सहज होस् भन्ने  उद्देश्यले कोठाहरु बनाएका छौं,' उनले भने, 'हरेक ठाउँमा ह्विलचियर जान गरी बाटो बनाएका छौं ।'

होटल निर्माणमा रामेछाप, रूकुम, बागलुङ, बन्दिपुरलगायत विभिन्न ठाउँका ढुंगा, चितवनकै काठ प्रयोग गरिएको समेत शाहले बताए । 'हाम्रो डिजाइन अनुसार विभिन्न कारखानामा अर्डर अनुसार बनाएका छौं, स्थानीय उत्पादनलाई नै पहिलो प्राथमिकता दिएका छौं,' उनले भने ।

Royal Tulip Chitwan opens in Sauraha with an investment of Rs 1.75 billion

होटल निर्माणमा हालसम्म  १ अर्ब ७५ करोड रूपैयाँ लगानी भइसकेको शाहले बताए । 'सौराहामै अझै यस्ता ४/५ वटा होटल आवश्यक छ,' उनले भने, 'त्यसैले सरकारले यो ठाउँलाई प्रवर्द्धन गर्न जोड दिनुपर्छ । नाइट सफारी पनि गराउने पाउने व्यवस्था गर्नुपर्छ ।' चितवनमा विभिन्न किसिमका पर्यटकहरू आउने भन्दै सानादेखि ठूलासम्म होटलहरू चल्नु पर्ने शाहको भनाइ छ । त्यसका लागि सबै होटल व्यवसायी, स्थानीय मानिससँग छलफल गर्ने उनको योजना छ ।

होटलमा अहिले  ९४ जना कर्मचारी छन् । स्थानीयलाई नै रोजगारी दिने मुख्य प्राथमिकतामा राखिएको भन्दै रोयल टुलिप ब्रान्डले पठाएको ३ जना मात्रै बाहिरका कर्मचारी रहेको उनले सुनाए । यद्यपि बिस्तारै कर्मचारी थपिने उनले बताए ।

सरकारले वर्षायाममा बर्सेनि चितवन राष्ट्रिय निकुञ्ज बन्द गर्दै आएको छ । तर चितवनकै अन्य सामुदायिक वनहरु खुला नै हुन्छ । निकुञ्ज बन्द हुँदा सौराहा नै बन्द भएजसरी प्रचार हुने गरेको शाहले गुनासो गरे । 'सरकारले सधैं वर्षायाममा निकुञ्ज बन्द गर्छ । तर जनतामा पूरै सौराहा नै बन्द भएको सूचना जान्छ,' उनले भने, 'कुमरोज,बाघमारा, चित्रसेनलगायत सामुदायिक वनहरु छन् । त्यसैले सौराहा खुल्ला हुन्छ । अफवाह फैलाउन हुँदैन ।'

कान्तिपुर

Link copied successfully