गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण केही बढेको छ ।
What you should know
काठमाडौँ — गत कात्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।
गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण केही बढेको छ । गत असोसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो ।
सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड (जीडीपीको २०.८९ प्रतिशत) र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँ थपिएको हो ।
गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।
सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
