नेपाल बैंकर्स संघले जर्मन विकास नियोग (जीआईजेड) सँगको सहकार्यमा नवीकरणीय उर्जा तथा उर्जा कार्यक्षमता साझेदारी (आरइइइपी)– विश्वव्यापी नवीकरणीय उर्जा तथा उर्जा कार्यक्षमता सञ्जाल (ग्रिन) परियोजनाअन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँ — नेपालको उर्जा क्षतामा लगानी क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बैंकर्स संघले जर्मन विकास नियोग (जीआईजेड) सँगको सहकार्यमा नवीकरणीय उर्जा तथा उर्जा कार्यक्षमता साझेदारी (आरइइइपी)– विश्वव्यापी नवीकरणीय उर्जा तथा उर्जा कार्यक्षमता सञ्जाल (ग्रिन) परियोजनाअन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयनसम्बन्धी क्षमता अभिवृद्धि हुने बैंकर्स संघको दाबी छ ।
कार्यशालामा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरबारे छलफल भएको थियो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानीमार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्रतर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, विराटनगर, वीरगन्ज, चितवन र नेपालगन्जलगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरि २०० भन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो ।
नेपाल बैंकर्स संघ दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
