सडक डिभिजन कार्यालय भक्तपुरले काठमाडौँको एवन काली जेभीसँग ३१ करोड ५६ लाखमा नयाँ ठेक्का सम्झौता गरेको हो।
What you should know
काभ्रे — अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकका लागि नयाँ ठेक्का सम्झौता भएको छ। उक्त सडकको ४ किलोमिटर सडक खण्डको विस्तार कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुरले नयाँ ठेक्का लगाएको हो।
कार्यालयका अनुसार एवन काली जेभी काठमाडौँले उक्त कार्यको लागि ३१ करोड ५६ लाखको बजेटमा ठेक्का लिएको हो। सो कम्पनीले १४ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ। आगामी २०८२ कार्त्तिक २७ गते एवन काली जेभी काठमाडौँसँग सम्झौता भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार, सम्झौता अनुसार अहिले सडक विस्तारको काम सुरु भइसकेको छ । समय सिमामै निर्माण व्यवसायीले काम सम्पन्न गर्ने अपेक्षा राखिएको उनले बताए । चार किलोमिटर सडक खण्डको विस्तार कार्य अन्तर्गत अहिले मेसिनरी वाल, प्लम कन्क्रिट, स्लोप प्रटोक्सन लगायतको कामहरू भइरहेको एवन काली जेभी काठमाडौँका प्रतिनिधि भक्त लामाले बताए।
उनका अनुसार, बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने, दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने, स्लोप प्रोटेक्सनको काम गरिनेछ । जसमा स्लोप प्रोटेक्सनको काम अलि चुनौतीपूर्ण रहेको उनले बताए । ‘हामीलाई काम सम्पन्नको लागि १४ महिनाको समय सीमा दिइएको छ,’ उनले भने, ‘त्यो भन्दा अघि नै सक्ने योजना रहेको छ, ट्राफिक डाइभर्सनलाई व्यवस्थापन गर्न सकिएको अवस्थामा आगामी वैशाखमा काम सक्ने हाम्रो योजना रहेको छ ।’
गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते रु २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरेको भए पनि सम्झौताअनुसार २०८० चैत १९ सम्म काम सकिनु पर्नेमा त्यसको ११ महिना सम्म म्याद थपदा पनि २५ प्रतिशत मात्रै काम भएपछि सडक विभागले ठेक्का रुद्ध गरेको थियो ।
ठेक्का रुद्ध भएपछि गौरी–पार्वती निर्माण सेवा कम्पनी उच्च अदालत पाटनमा मुद्दा हालेका थियो । उक्त मुद्दा गत असार २५ गते खारेज भएपछि डिभिजनले नयाँ पक्रिया अनुसार पुनः ठेक्का लगाएको थियो ।
