प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन ।
What you should know
काठमाडौँ — भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा आइतबारसम्म ९ करोड ३० लाख रुपैयाँ संकलन भएको छ ।
सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । जसअनुसार व्यक्ति र संस्था गरेर करिब सवा ९ करोड रुपैयाँ बराबर सहयोग गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
कोषमा हालसम्म सहयोग गर्नेहरूमा संस्था कम र व्यक्ति धेरै रहेका छन् । रकमका आधारमा सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्म संकलन भएको छ भने एक दर्जनभन्दा बढी व्यक्तिबाट एक रुपैयाँ प्राप्त भएको स्रोतले जनाएको छ ।
प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन । यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले सरकारी र निजी क्षेत्र गरी १ खर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक देखिएको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ८० अर्बभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ ।
सरकारले गरेको अध्ययनअनुसार तोडफोड, लुटपाट र आगजनीका क्रममा सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ ।
क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफलसमेत गर्यो । सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेका बेला त्यसको करिब २० अर्ब रुपैयाँ कम क्षति भएको उपसमितिले बताएको हो । सवा ८० अर्बको कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको, २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरूको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको क्षति भएको स्रोतको भनाइ छ ।
