क्षतिग्रस्त बीपी राजमार्गको २७.३ किमिमा सुरु भयो काम

जाइकाले काम गर्ने खण्डमा भने अझै ठेक्का भएन। सडकको काम सुरु भइसक्दा राजमार्गमा पर्ने पुल निर्माणका लागि पनि अझै ठेक्का हुन सकेन। ठेक्का लागेका पुलको पनि काम सकिएको छैन।

मंसिर ७, २०८२

विमल खतिवडा

Work begins on 27.3 km of damaged BP Highway

What you should know

काठमाडौँ — बीपी राजमार्गमा बाढीले क्षति पुर्‍याएको एक वर्षपछि बल्ल निर्माणको काम सुरु भएको छ । अहिले ३०.५ किलोमिटरमध्ये २७.३ किमि खण्डको ठेक्का सम्झौता भई काम थालिएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गर्ने भनेको ३.२ किमि खण्डमा भने अझै ठेक्का भएको छैन । जसले गर्दा आउने बर्खामा समस्या हुने देखिएको सडक विभाग स्रोतकै भनाइ छ ।

ठेक्का भएको खण्डमा भने अहिले निर्माण व्यवसायी मेसिनसहित परिचालित भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए ।

‘अहिले ठेक्का भएर काम थालिएको खण्डमा आउने बर्खामा समस्या हुने दिन्नौं,’ योगेशले भने, ‘जाइकाले गर्ने खण्डमा ठेक्का भइनसकेकाले त्यहाँ बर्खामा समस्या हुने जोखिम छ ।’ राजमार्गअन्तर्गत भकुन्डेबेसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । 

काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेसीदेखि चारसयबेसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको हो ।

पिप्लेदेखि डालाबेसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ रहेको सडक डिभिजन प्रमुख योगेशले बताए । जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्ड निर्माण हुन लागेको हो ।

‘जाइकाको डिजाइन पेस भएर फाइनल हुन बाँकी छ,’ योगेशले भने, ‘अन्य खण्डमा भने काम सुरु भइसकेको छ, जाइकाले ठेक्का सम्झौता गरेर वैशाखतिर निर्माणमा खटिन सक्ने र सन् २०२७ को अन्त्यसम्म आफूले लिएको खण्डको काम सक्ने भन्ने छ ।’ 

यता बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरिढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ हो । जुन खण्डको गत असार दोस्रो साता ठेक्का सम्झौता भएको हो । सडक विभागबाट बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएअनुसार ठेक्का व्यवस्थापनको काम गरिएको हो ।

सडकको काम सुरु भइसक्दा राजमार्गमा पर्ने पुल निर्माणका लागि भने अझै ठेक्का हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । यस राजमार्गमा साँघुरा पुलका कारण सधैं ट्राफिक जाम हुन्छ । सिंगल लेनका पुलका कारण ट्राफिक जाम हुने गरेको सडक विभागले जनाएको छ । 

दुई लेन सडकसँगै पुल पनि दुई लेनकै बनाउने गरी अध्ययन सुरु गर्न लागिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । उक्त राजमार्गको केही खण्डमा चार पुल निर्माणका लागि अध्ययन गरिँदै छ । ठेक्का भएर काम थालिएका पुलमा पनि निर्माण प्रगति सन्तोषजनक छैन ।

दाप्चा खोलाको भकुन्डेबेसी, दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ पुल बनाउन लागिएको हो । राजमार्गको माम्ती र कालढुंगामा भने पुलको ठेक्का भइसकेको छ । गत असोजको बर्खामा माम्ती पुलबाटै सवारीसाधन चलाइएको र यसको फिनिसिङको काम मात्र बाँकी रहेको सडक डिभिजन भक्तपुरका प्रमुख योगेशले जनाए । कालढुंगामा ठेक्का भए पनि काम हुन नसकेको र पहिला गरिएको डिजाइनमा पुनर्विचारको काम भइरहेको उनको भनाइ छ । यही राजमार्गमा पर्ने बर्खे खोलामा पुलको ठेक्का भएर काम थालिएको भए पनि निर्माणमा प्रगति छैन ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully