नेपाल एयरलान्यस र इजरायली कम्पनीबीचको इन्जिन मर्मत र भाडासम्बन्धी विवाद समाधानतर्फ

नयाँ महाप्रबन्धकले रोकिएको भुक्तानी प्रक्रिया अघि बढाए, भाडामा चलाइरहेको इन्जिनको करिब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता नतिरेको आरोप लगाउँदै इजरायली कम्पनीले कात्तिक ५ गते सम्झौता रद्द भएको जानकारी इमेलमार्फत पठाएको थियो।

मंसिर ५, २०८२

सुरज कुँवर

Towards resolution of engine maintenance and rental dispute between Nepal Airlines and Israeli company

What you should know

काठमाडौँ — करिब दुई वर्षअघि नेपाल वायुसेवा निगमको लुम्बिनी नामक न्यारोबडी विमानका दुई इन्जिन मर्मत तथा एउटा भाडामा ल्याउने प्रक्रियाबाट उत्पन्न विवाद अब समाधानतर्फ उन्मुख भएको छ। लामो समयदेखि अवरुद्ध भुक्तानी प्रक्रिया नयाँ महाप्रबन्धक अमृतमान श्रेष्ठले अघि बढाएपछि विवाद टुंगोमा पुग्ने संकेत देखिएको हो।

यसअघि कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मत तथा भाडासम्बन्धी भुक्तानी रोकेका थिए। त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीद्वारा निमित्त महाप्रबन्धक तोकिएका निगमका वरिष्ठ निर्देशक जनकराज कालाखेतीले आफूलाई भुक्तानी गर्ने कानुनी अधिकार नभएको बताउँदै प्रक्रियाबाट हटेका थिए।

यहीबीच, इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआइ) ले नेपाल वायुसेवा निगमले पटक–पटक माग गर्दा पनि भुक्तानी नगरेपछि कडा कदम उठाउँदै सम्झौता रद्द गर्ने निर्णय सुनाएको थियो। 

भाडामा चलाइरहेको इन्जिनको करिब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता नतिरेको आरोप लगाउँदै कात्तिक ५ गते सम्झौता रद्द भएको जानकारी इमेलमार्फत पठाइएको थियो। 

त्यसपछिको अवस्था अनुसार लुम्बिनी विमान तत्कालै ग्राउन्ड हुने जोखिम उत्पन्न भएपछि, पर्यटन मन्त्रालयसमेत हेरेकी प्रधानमन्त्री कार्की विवाद समाधानमा सक्रिय भएकी थिइन्।

यही पहलअनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कालाखेतीलाई निमित्त महाप्रबन्धकबाट हटाएर निगमकै सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धक नियुक्त गर्दै विवाद समाधानको जिम्मा दिएको थियो । महाप्रबन्धकको पत्र बुझेकै पहिलो  दिनमै श्रेष्ठले विवाद समाधानतर्फका महत्वपूर्ण निर्णय गरेका छन्।  उनका अनुसार पहिलो इन्जिन मर्मतबापत डेढ वर्षदेखि रोकिएको २९ करोड रुपैयाँ भुक्तानी प्रक्रियामा अघि बढाइएको छ। 

यस्तै, दोस्रो इन्जिन (झन्डै ९४ करोड रुपैयाँ) मर्मतका लागि पहिले नै खोलिएको एलसी नवीकरण गरी प्रक्रिया पुनःसञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।  एलसी नवीकरण भएपछि छ महिनाअघि मर्मत सम्पन्न भएको दोस्रो इन्जिन नेपाल पठाइनेछ।

यसबीच, इजरायली कम्पनीका प्रतिनिधि चाँडै नेपाल आउने तयारीमा छन्। उनीहरू र नेपाल वायुसेवा निगमबीच भाडामा प्रयोग भइरहेका इन्जिन फिर्ता गर्ने, निगमका मर्मत भइसकेका आफ्नै इन्जिन प्राप्त गर्ने तथा बाँकी रकमबारे छुट वा सहमतिका आधार तय गर्ने विषयमा एक समझदारीपत्र मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

इजरायली कम्पनीले भाडाको इन्जिनका लागि कम्तीमा ४० करोड रुपैयाँ दाबी गरेको छ। तर उक्त रकम समायोजन तथा सम्भावित छुटबारे दुवै पक्षबीच छलफल जारी छ।

यसैबीच नयाँ महाप्रबन्धकले सबै निर्देशकसहितको व्यवस्थापन बैठक बिहीबार साँझ न्युरोडमा राखेका थिए । उक्त बैठकमा तत्कालीन अध्यक्ष युवराज अधिकारीले कार्यकाल सकिने बेला भर्ना गरेका करारका कर्मचारी आवश्यकतानुसार हटाउने, दुइटा वाइडबडीका चारवटा इन्जिनको ओभरहल गर्ने ठेक्का प्रकिया अघि बढाउने, निगमको तेस्रो टुइनअटर मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय बिहीबार निगम मुख्यालयमा गरेको बताएका छन ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully