पहिलो त्रैमासमा भित्रियो १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी

पहिलो त्रैमासमा भित्रिएको यो विदेशी लगानी प्रतिबद्धताको ५ प्रतिशत मात्रै हो ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Foreign direct investment of Rs 1.74 billion entered in the first quarter

काठमाडौँ — चालु आर्थक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७४ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार साउन-असोजमा १ अर्ब ७४ करोड ८ लाख रुपैयाँ एफडीआई भित्रिएको हो । पहिलो त्रैमासमा भित्रिएको विदेशी लगानी प्रतिबद्धताको ५ प्रतिशत मात्रै हो । उद्योग विभागका अनुसार तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । 

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् । 

विभागका अनुसार साउनमा २४ अर्ब १० करोड  रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । भदौमा ८ अर्ब ९८ करोड र असोजमा २ अर्ब ४ करोड रुपैयाँ मात्रै विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनका कारण विदेशी लगानी प्रतिबद्धता घटेको देखिएको छ ।

विदेशी लगानी भित्रने क्रममा भने खासै फरक देखिँदैन । साउनमा ६९ करोड १५ लाख, भदौमा ५८ करोड १९ लाख र असोजमा ४६ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको  राष्ट्र बैंकले जनाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । सोही अविधमा ४ अर्ब ८१ करोड रहेको  लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully