पुँजीमा पहुँच विस्तार गरौं : गभर्नर पौडेल

राष्ट्र बैंकले शुक्रबार दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने धारणा राखेका हुन् ।

मंसिर ५, २०८२

डम्बरसिं राई

Let's expand access to capital: Governor Poudel

खोटाङ — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहुँचमा पुँजी होइन, पुँजीमा पहुँच विस्तार गर्नुपर्ने बताएका छन् । 

राष्ट्र बैंकले शुक्रबार दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने धारणा राखेका हुन् । पछाडि परेका समुदाय, सूचनाको पहुँच नभएकाहरूलाई बैंकको स्किमहरू जानकारी गराएर पुँजीमा पहुँच बढाउँदै उनीहरूको जीवनस्तर बढाउनु पर्ने पौडेलले बताएका छन् । यसका लागि राजनीतिकर्मीहरूले समेत उक्त समुदाय तथा वर्गलाई सूचना विस्तार गर्नुपर्ने पौडेलले आग्रह गरे ।

'पहुँच हुने पोल्टिसियनहरूले आफैं मात्र होइन अन्यलाई पनि स्किमको बारेमा सूचना दिनुपर्छ,’ पौडेलले भने, 'जो पछाडि पर्नु भएको छ, सूचनामा पनि केही छैन, जो समुदायगत रूपमा पनि पछाडि पर्नु भएको छ, उहाँहरूलाई यो यो स्किम छ, यसबाट आर्थिक अवस्था माथि उक्सन्छ भनेर सूचना दिनु पर्छ ।’

विदेशमा होइन, स्वदेशमै पैसा कमाउन सकिने पौडेलले बताए । यसका लागि बैंकमा धेरै खालको स्किम भएकाले आफूले चाहेअनुसारको स्किम छानेर व्यवसाय गर्न सकिने समेत पौडेलले जनाएका छन् । बैंकबाट ऋण लिएर विदेश जानेभन्दा पनि स्वदेशमै काम गर्नुपर्ने समेत पौडेलको धारणा छ । 

'विदेशमा पढ्न/सिक्न गए पनि कामचाहिँ स्वदेशमै गर्नु पर्छ, त्यसका लागि हाम्रा बैंकहरूमा स्किम छन्, जुन ठीक लाग्छ त्यही गर्ने हो,’ उनले भने । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully