मारेकटहरेमा खुल्यो किवी प्रशोधन उद्योग, किसान उत्साहित

१० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योगले किवीफल प्रशोधन गरी वाइन उत्पादन सुरु गरेको हो।

मंसिर ५, २०८२

विनोद घिमिरे

Kiwi processing industry opens in Marektahare, farmers excited

What you should know

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेस्थित तोरीबारी गाउँमा किवी प्रशोधन उद्योग सञ्चालन भएको छ। १० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योगले किवीफल प्रशोधन गरी वाइन उत्पादन सुरु गरेको हो। व्यवसायी दुर्गामणि पौडेलले सञ्चालनमा ल्याएको उद्योगले आउँदो फागुनबाट ‘तीनजुरे बगान’ नामको वाइन बजारमा ल्याउने तयारी गरेको हो।

पौडेलले ८ वर्षअघि गाउँ फर्केर किवी खेती सुरु गरेका थिए । उनी संघीय राजधानी काठमाडौँमा सीपमूलक तालिम सञ्चालन गर्थे। अंशको रूपमा प्राप्त पुर्ख्यौली जमिनमा थपेर किवीको बगैँचा विस्तार गरिएको उनले सुनाए । उनले भने, ‘एक सय रोपनी क्षेत्रफलमा फैलिएको बगानमा मण्टी, एलिसन, हेवार्डलगायत जातको किवीले राम्रो उत्पादन दिइरहेको छ । आफ्नै उत्पादन मनग्ये भएपछि प्रशोधन समेत सुरु गरेको हुँ ।’

अहिले उनको बगैंचामा १० मेट्रिक टन बढी उत्पादन हुन्छ । कोशी पहाडी जिल्लामा किवी खेतीको क्षेत्र विस्तार हुँदै जाँदा सहउत्पादनको योजनासहित आफू गाउँ फर्किएको उनको भनाइ छ । वार्षिक करिब ३० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको उद्योगले अहिले ४० मेट्रिक टन किवी प्रशोधन गरिरहेको छ ।

उनको प्रशोधन उद्योगले पाँच लाख लिटर किवी वाइन उत्पादन गर्न सक्छ । तर अहिले कच्चा पदार्थ, दक्ष कामदार र बजारको खोजी भइरहेकाले उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको पौडेल बताउँछन् । गाउँमै प्रशोधन उद्योग सञ्चालनमा आएपछि किवीका स्थानीय उत्पादक उत्साहित भएका छन् ।

बजार नपाएर निराश बनेका किसानलाई ‘तीनजुरे बगान’ ले आफ्नो उत्पादन खरिद गर्न थालेपछि सहज भएको स्थानीय तिलबहादुर पौडेल बताउँछन् । तिलबहादुरले नै १५ वर्षअघि मारेकटहरेमा किवीफलको व्यावसायिक उत्पादन सुरु गरेका थिए ।

उमेर ८० नाघेका तिलबहादुर गाउँमा किवी ‘बा’ का नामले चिनिन्छन् । आफूले सुरु गरेको पेसाले व्यावसायिक रूप लिँदै गएपछि उनी खुसी छन् । उनको बगैंचामा अहिले १५ टन किवी उत्पादन हुन्छ । गाउँमै प्रशोधन केन्द्र खुलेपछि बिक्रीमा समस्या नभएको उनको भनाइ छ । विगतमा उनी बिक्रीका लागि धनकुटा बजार, धरान र दमकसम्म पठाउँथे ।

Kiwi processing industry opens in Marektahare, farmers excited

स्थानीय किवी उत्पादक किसान दिलबहादुर मगर किवी प्रशोधन उद्योग सञ्चालनमा आएपछि उत्पादन बिक्रीको समस्या नभएको सुनाउँछन् । ‘राम्रा रहरलाग्दा दाना बाहिरै बेच्थेँ’, मगर भन्छन्, ‘ए–ग्रेडका दाना बाहिर प्रतिकिलो ८० रुपैयाँमा बेच्थेँ, सालाखाला यही उद्योगलाई ७० सम्ममा दिन्छु ।’

धनकुटा मारेकटहरेको माथिल्लो क्षेत्र किवी फल उत्पादनका लागि बढी सम्भाव्य मानिन्छ । किवी खेतीमा स्थानीयको चासो देखेपछि वडा र नगरपालिकाले समेत यो ठाउँलाई पकेट क्षेत्र घोषणा गरी खेती गर्न चाहने किसानलाई बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन् । मारेकटहरे गाउँमै मात्रै ६५/७० किसान किवी उत्पादनमा लागेका छन् ।

नगरपालिकाले किवी खेतीमा स्थानीयको चासो देखेपछि बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइरहेको महालक्ष्मी–२ का वडाध्यक्ष पदम रिमाल मगर बताउँछन् । उनले मारेकटहरे गाउँलाई किवी पकेट क्षेत्र घोषणा गरी किसानलाई किवी खेतीमा प्रेरित गरिरहेको बताए । किवी खेतीको क्षेत्र विस्तार र उत्पादनमा वृद्धि हुँदै गए पनि राज्यका नीति नियम किसान, उद्योग र बजारमैत्री बन्न नसकेको उद्योग सञ्चालक पौडेलको गुनासो छ ।

Kiwi processing industry opens in Marektahare, farmers excited

उनका अनुसार स्थानीय कच्चा पदार्थमा आधारित दुर्गममा खुलेका यस्ता उद्योगसम्म जाने–आउने पहुँच मार्ग, प्राविधिक सेवा, उपकरण सहयोग र अन्तःशुल्कलगायत करमा सहुलियत दिनु आवश्यक छ । उनको उद्योग कोशी राजमार्गको चित्रे–वसन्तपुर बीचको दाह्रे गाउँबाट १० किलोमिटर कच्ची सडक दूरीमा छ । उनले सडक स्तरोन्नतिको लागि सहयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् । राज्यले निर्धारण गरेका मापदण्ड पूरा गरेर सञ्चालनमा आएको उद्योगले निर्धारित कर बुझाएपछि सहयोगको स्वाभाविक अपेक्षा राख्ने बताए ।

उद्योगले अहिले धनकुटासहित इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङलगायत जिल्लामा उत्पादित किवी खरिद गरिरहेको छ । उनको किवी बगैँचा र प्रशोधन उद्योगमा २० जनाले आंशिक र ५ जनाले पूर्णकालीन रोजगारी पाएका छन् ।

Kiwi processing industry opens in Marektahare, farmers excited

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ५० जनासम्मले पूर्णकालीन रोजगारी पाउने र वाइन उत्पादन बढाएर वार्षिक ५ लाख लिटर वाइन उत्पादन गर्न सक्ने जनाएका छन् । आउँदो फागुनबाट ‘तीनजुरे बगान’ नामको वाइन बजारमा ल्याउने तयारी पौडेलको छ । नेपाली बजारपछि मध्यपूर्वसम्म बजार विस्तार गर्ने उनको योजना छ ।

‘हिमालयन रेन्जमा फलेको किवी वाइनको मिठास र गुणस्तर उच्चकोटीको हुने’ उनको दाबी छ । उनले ‘७५० मिलिमिटरको परिमाणमा स्वीट र सेमी–स्वीट वाइन बजारमा ल्याउने तयारी गरेको’ जनाए ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully