‘सहकारीका बचतकर्ताको रकम हिनामिना भएको छैन’  

कार्यालयले बचत तथा ऋण मिलान कार्यमा शुल्कका रुपमा मिलान रकमको १० प्रतिशत रकम सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने गरिएकोमा उक्त कार्यलाई कार्यालयले पैसा उठायो भन्ने कपोलकल्पित प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

'Cooperative savers' money has not been embezzled'

What you should know

काठमाडौँ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका बचतकर्ताको रकम हिनामिना नभएको दाबी गरेको छ । केही दिनयता सहकारीपीडितले समस्याग्रस्त सहकारीको काम कारबाहीमा प्रश्न उठाउँदै आन्दोलन गर्न थालेपछि बिहीबार कार्यालयले विज्ञप्तिमार्फत बचतकर्ताको पैसा हिनामिना नभएको र कानुनअनुसार पीडितको पैसा फिर्ता गरिरहेको दाबी गरेको छ ।

‘आमपीडित बचतकर्ताको बचत फिर्ता गर्ने कार्यका लागि विभिन्न विकल्पहरुका साथ अगाडि बढिरहेको समेत सबैलाई अवगत नै छ । यस समितिका विरुद्ध विभिन्न माध्यमबाट अनर्गल प्रचार हुन गएको तर्फ यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा आम बचतकर्ताहरुलाई त्यस प्रकारका भ्रम तथा हल्लाको विश्वास नगर्न आग्रह गरिएको छ ।’

कार्यालयले बचत तथा ऋण मिलान कार्यमा शुल्कका रुपमा मिलान रकमको १० प्रतिशत रकम सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने गरिएकोमा उक्त कार्यलाई कार्यालयले पैसा उठायो भन्ने कपोलकल्पित प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । उक्त रकम सम्बन्धित सहकारीको खातामा स्वयं बचतकर्ताले नै जम्मा गर्ने गरेको तथा उक्त रकम विशुद्ध रुपमा मिलान नभएका बचतकर्ताको बचत रकम फिर्ताका लागि प्रयोग गर्ने गरिएको दाबी कार्यालयको छ । बचत फिर्ताबाहेक उक्त रकम अन्य कार्यमा खर्च नभएको र भविष्यमा पनि नगरिने कार्यालयले जनाएको छ ।

‘तेस्रो पक्षको जग्गा मिलानबाट हालसम्म पनि ऋण वा दायित्व फरफारक नभएको छैन,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म (करिब ६ वर्षको अवधिमा) ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ रुपैयाँ बचत फिर्ता/मिलान गरिएको थियो । तर आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ३ हजार ६ सय ८९ जना मागदाबीकर्ताको सम्पूर्ण रकम मागदाबी फरफारक गरिएको कार्यालयले जनाएको छ ।

यो अवधिमा विभिन्न सहकारीका ५६ हजार १ सय ६ पहिलो चरणमा मागदाबी भएका बचतकर्तालाई ३५ करोड ८२ लाख ८ हजार १ सय २८ आंशिक रुपमा फिर्ता गर्ने प्रक्रिया चलिरहेको पनि कार्यालयले जनाएको छ  ।

यो अवधिमा जम्मा ३ अर्ब २९ करोड ८४ हजार ७ सय ८० बचत रकम मिलान तथा दामासाहिले हुन आउने रकम बैंकमार्फत नगद वितरण गरिएका कार्यालयले जानकारी दिएको छ ।

‘समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चलअचल सम्पत्ति रोक्का गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चलअचल सम्पत्ति रोक्का गरिएको छ । बाँकी ऋणीको समेत बैंक खाता तथा सम्पत्ति रोक्का राख्ने प्रक्रियालाई निरन्तरता दिइएको छ ।’

कान्तिपुर

Link copied successfully