क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफलसमेत गर्यो । सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेका बेला त्यसको करिब २० अर्ब रुपैयाँ कम क्षति भएको उपसमितिले बताएको हो ।
What you should know
काठमाडौँ — गत २३ भदौको जेन–जी आन्दोलन र २४ मा तोडफोड, लुटपाट र आगजनीका क्रममा सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ ।
क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफलसमेत गर्यो । सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेका बेला त्यसको करिब २० अर्ब रुपैयाँ कम क्षति भएको उपसमितिले बताएको हो । सवा ८० अर्बको कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको, २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरूको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको क्षति भएको स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालयमा भएको छलफलमा उपसमितिले हालसम्म सवा ८० अर्ब बराबरको क्षति भएको र क्षतिको विवरण आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने जनाएको छ । ‘क्षतिको विवरण केही बढे पनि बढेको रकम अर्बमा नभई करोड र लाखमा थपिनेछ । यसका आधारमा प्रदर्शनको क्षति ८० अर्ब रुपैयाँभन्दा सामान्य बढी हुने देखिन्छ,’ स्रोतले भन्यो ।
प्रदर्शनमा मुलुकभर सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न सरकारले राष्ट्रिय योजना आयोगका सचिव हरिशरण पुडासैनीको संयोजकत्वमा ५ सदस्य उससमिति गठन गरिएको थियो । यही उपसमितिले संकलन गरेको विवरण (लस एन्ड ड्यामेज एसेसमेन्ट) अनुसार देशभर आन्दोलनबाट ८० अर्ब २२ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक मूल्यांकन बाहिर आएको हो ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भने निजी क्षेत्रको मात्र करिब ८० अर्ब रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको र त्यसमध्ये ३७ अर्ब रुपैयाँ बराबरको सम्पत्ति पूर्ण रूपमा क्षति पुगेको बताएको छ । यसअनुसार होटल तथा पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी, अटोमोबाइल क्षेत्रमा १५ अर्बभन्दा बढी, बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको बताइएको छ । आन्दोलनमा भएको क्षतिपछि करिब १५ हजार रोजगारी प्रभावित, जीडीपीमा ५ प्रतिशतको असर पर्ने सक्ने आकलन गरिएका छन् । प्रदर्शनमा प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट १५ अर्ब रुपैयाँ हाराहारी क्षति पुगेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रारम्भिक अनुमान छ । नाडाका अनुसार प्रारम्भिक रूपमा काठमाडौंसहित देशभरका अटो डिलर, सोरुम, वायरहाउस, स्पेयर पाटर््स स्टोरलगायतमा क्षति भएको छ । सबैभन्दा धेरै क्षति थापाथली क्षेत्रमा भएको नाडाले जनाएको छ । कलंकी, हेटौंडा, पोखरा, नारायणगढलगायतका डिलरमा पनि क्षति पुगेको छ ।
आगजनी र तोडफोडका कारण निजी क्षेत्रमा १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको छ । यो धेरै रोजगारी प्रदान गरिरहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायत संस्थाले प्रदान गरेको रोजगारीको संख्या हो । धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित भएकाको संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ ।
भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । आन्दोलनका क्रममा २१ शाखामा क्षति पुगेको छ । तीमध्ये ९ शाखा तोडफोड भए पनि सञ्चालनमा आइसकेका छन् । आगजनीबाट पूर्ण ध्वस्त भएका १२ शाखा हाल सञ्चालनमा छैनन् । भाटभटेनीले कुनै पनि कर्मचारीलाई रोजगारीबाट ननिकाल्ने र तत्काल अरू शाखामा काम दिने बताइसकेको छ ।
