चितवन निकुञ्ज घुम्ने विदेशी घटे, स्वदेशी बढे

वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि पहिलो गन्तब्य चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, बाघ जस्ता जीवजनावर हेर्न देशविदेशबाट वर्षमा तीन लाखसम्म पर्यटक आउने गरेका छन् ।

मंसिर ४, २०८२

रमेशकुमार पौडेल

Foreigners visiting Chitwan National Park decrease, locals increase

What you should know

चितवन — चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशीको संख्या केही घटेको छ । तर स्वदेशी पर्यटकको संख्या बढेका कारण प्रतिकुल अवस्थामा पनि निकुञ्ज घुम्नेको संख्यामा सुधार देखिएको छ ।

भदाै २३ र २४ काे प्रर्दशन र दसैंतिहारका बेलाको बाढीपहिरो तथा झरीमा पनि चितवन घुम्न आउनेको संख्या खासै घटेन ।  

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापाका जानकारी अनुसार साउनदेखि कात्तिकसम्म ६७ हजार ७३५ जनाले चितवन निकुञ्ज घुमेका छन् । अघिल्लो वर्ष यो अवधिमा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या ६३ हजार २८ जना थियो । तर निकुञ्ज घुम्ने पर्यटकमा गत वर्षभन्दा स्वदेशी बढेको र विदेशीको संख्या घटेको निकुञ्जको तथ्याङ्कले देखाउँछ ।

निकुञ्जको तथ्यांक अनुसार गत साउनदेखि कात्तिकसम्म २४ हजार ६९२ विदेशी, ३ हजार ३४५ सार्क देशका र ३९ हजार ६९८ नेपालीले यहाँ घुमेका छन् । गत वर्ष यो अवधिमा निकुञ्ज घुम्ने विदेशीको संख्या २९ हजार ६१ थियो । त्यसैगरी सार्क मुलुकका ५ हजार ८२१ र स्वदेशी २८ हजार १४६ ले चितवन निकुञ्ज घुमेका थिए । 

गत वर्षभन्दा यो वर्षको पहिलो चौमासिकमा ४ हजार ३६९ विदेशी र सार्क देशका २ हजार ४७६ पर्यटक कम आएका छन् । निकुञ्ज घुम्ने स्वेदशी पर्यटकको संख्या गत वर्षको साउनदेखि कात्तिकसम्म भन्दा यो पटक ११ हजार ५४९ जना बढी हुँदा कुल पर्यटकको संख्यामा सुधार देखिएको हो ।

असोज र कात्तिकमा स्वदेशी/विदेशी दुवै खालका पर्यटक धेरै आउने समय हो । तर गत वर्ष र यो वर्ष पनि असोज लागेपछि सुरु भएको बाढीपहिरोले पर्यटक प्रभावित भएका हुन् । यो वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र तोडफोड, आगजनी जस्ता ध्वंसात्मक गतिविधिले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भयो । 

चितवन निकुञ्ज घुम्न सर्वाधिक पर्यटक आउने कात्तिकमा पनि पर्यटक आवागनको संख्या राम्रो नदेखिएका कारण पर्यटन व्यवसायीहरु उत्साहित छैनन् । पर्यटकीय होटलहरुको संस्था क्षेत्रीय होटल संघ (हान) चितवन सौराहा अध्यक्ष ओम पाण्डे जेनजी आन्दोलनपछि विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गरेको बताए । ‘बुकिङदर ७० देखि ९० प्रतिशतसम्म थियो । धेरैले रद्द गरे । त्यसैले विदेशी पर्यटकको संख्या कम देखिएको हो,’ उनले भने । 

दसैंको समयमा पनि झरी र बाढीपहिरो आएर मुख्य राजमार्ग बन्द हुँदा पर्यटन प्रभावित भयो । तिहारका दुई/तीन दिन सौराहालगायतका निकुञ्जछेउका मुख्य पर्यटकीय क्षेत्र भरिभराउ हुँदा पर्यटन व्यवसायीलाई केही राहत दिएको थियो । 

चितवन निकुञ्ज वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि पहिलो गन्तब्य हो । यहाँ दुर्लभ एकसिंगे गैंडा, बाघ जस्ता जीव जनावर हेर्न देशविदेशबाट वर्षमा तीन लाखसम्म पर्यटक आउने गरेका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully