क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा अहिलेसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ।
काठमाडौँ — २४ भदौको प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा अहिलेसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको बताइएको छ । विभिन्न व्यावसायिक प्रतिष्ठान एवं संघसंस्थाबाट उक्त रकम संकलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसैबीच कोषमा निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रुपैयाँ जम्मा गरेको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।
परिषद्का अध्यक्षसमेत रहेका भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे ।
आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको थियो । केही दिनअघि बसेको समिति बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालु गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्नेछ ।
