क्यासिनोले कानुनबमोजिमका सर्त, मापदण्ड तथा निर्देशन पूर्ण पालना नगरेको उजुरीका आधारमा पर्यटन विभागको गम्भीर ध्यानाकर्षण भएको निर्देशनमा उल्लेख गरेको छ ।
What you should know
भैरहवा/विराटनगर — सीमावर्ती सहरमा क्यासिनो व्यवसायका कारण पर्यटकीय चहलपहल वृद्धि भएकामा व्यवसायी एकमत देखिन्छन् । तर, क्यासिनोले नियम पालना नगरेको विषयमा उनीहरू प्रश्न तेर्स्याउँछन् । क्यासिनो खेल्नका लागि भारतीय पर्यटक सुरक्षित तवरले आउन पाउनुपर्ने उनीहरूको भनाइ छ । त्यसरी आउँदा साथमा पैसामात्र ल्याउँछन् कि अन्य कुनै बस्तु पनि– त्यो भने जाँच गरिनु जरुरी देखिएको छ ।
व्यवसाय सञ्चालन गर्दा राज्यले तय गरेका व्यवस्था, मापदण्ड र सर्त पालना हुनुपर्नेमा उनीहरू जोड दिन्छन् । ‘क्यासिनोका कारण भैरहवा लगायत सीमावर्ती सहरमा पर्यटकीय चहलपहल भइरहेको छ, यसले अरू व्यवसाय पनि जोगिएका छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘तर, क्यासिनोले पनि नियम पालना गर्नुपर्छ ।’ क्यासिनो खेल्न आउने खेलाडीले हातहतियार भित्र्याउन सक्ने कुरामा राज्यका निकाय चनाखो हुनुपर्ने उनले बताए ।
पछिल्लो समय क्यासिनो सञ्चालकले कानुन पालना नगरेको गुनासो बढेपछि सरोकारवाला निकायले चासो दिन थालेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्याममा पनि क्यासिनोमा हुने नियम विपरीतका गतिविधि सार्वजनिक भइरहेका छन् । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ पनि क्यासिनो व्यवसायलाई विवादरहित तुल्याउन सञ्चालक सचेत हुनुपर्ने बताउँछन् ।
‘व्यवसायीले पनि क्यासिनोभित्र ग्राहक प्रवेश गराउँदा उनीहरूलाई जाँच गरेर परिचय खुल्ने रेकर्ड राख्नु पर्यो, क्यासिनो प्रवेश गरेका व्यक्तिको अनुहार प्रस्ट खुल्ने गरी सीसीटीभी क्यामेरा जडान गर्नुपर्यो,’ उनले भने, ‘प्रशासनले पनि धेरै कडाइ गर्दा ग्राहक नआउने कुरालाई ख्याल राखेर सावधानी अपनाइदिनु पर्यो ।’ कतिपय क्यासिनोमा नेपालीलाई प्रवेश गराउने कुराले व्यवसायी आलोचित बन्ने वातावरण रोकिनुपर्ने उनले बताए ।
सरोकारवाला सरकारी नियकाले पनि मुलुकका सीमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनोले नियमावली २०८२ ले तय गरेका मापदण्ड र सर्त पालना नगर्दा विवादित बनेको जनाएका छन् । क्यासिनो सञ्चालकले नियमावलीका व्यवस्था लत्याएपछि उनीहरूमाथि प्रश्न उठेको ती निकायको भनाइ छ । क्यासिनो नियमन निकाय पर्यटन विभाग र राजस्व अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतले सञ्चालनमा देखिएका समस्या औंल्याएर प्रस्टीकरण मागेका छन् ।
राज्यले तय गरेको नीति नियम र सर्त पालना गर्नुपर्ने भन्दै सुरक्षा व्यवस्थापनको जिम्मेवारी रहेको जिल्ला प्रशासनले ध्यानाकर्षण गराएको छ । नियामक निकायका अनुसार विभिन्न क्यासिनो सञ्चालकले आधुनिक मेसिन या विद्युतीय उपकरणको माध्यमबाट मात्र खेल खेलाइनु पर्नेमा टेबुल राखेर जुवा खेलाउने गरेकामा आपत्ति छ । नियमावलीले क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाएको छ । तर, क्यासिनोले नक्कली भारतीय आधार कार्ड बनाएर नेपाली प्रवेश गराएको भन्दै जवाफ मागेको छ । मापदण्ड र सर्त पालना नगर्दा राजस्व चुहावटको आशंका गर्दै राजस्व अनुसन्धान कार्यालय बुटवलले विवरण माग गरिसकेको छ ।
नियम बेवास्ता गरिएको सार्वजनिक भएपछि पर्यटन विभागले गत कार्तिक २९ गते क्यासिनोलाई १२ बुँदे निर्देशन जारी गरेको छ । विभागबाट इजाजत पत्र लिई सञ्चालनमा रहेका क्यासिनोले कानुनबमोजिम पालना गर्नुपर्ने सर्त, मापदण्ड तथा निर्देशन पूर्ण पालना नगरिएको उजुरीका आधारमा विभागको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, पर्यटन ऐन २०३५ र क्यासिनो नियमावली २०८२ मा उल्लेखित व्यवस्था, सर्त र निर्देशन अनिवार्य रूपमा पालना गर्न विभागले निर्देशन गरेको हो ।
क्यासिनोलाई जारी गरिएको निर्देशनमा सम्पति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन पालना गर्नुपर्ने, नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने, क्यासिनो नियमावली २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन बमोजिम नियमित विवरण विभागमा पेस गर्नुपर्ने, क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्रिक विवरणहरू अद्यावधिक गरी विभागले माग गरेको बेलामा उपलब्ध गराउने, क्यासिनो स्थलमा हुने सबै गतिविधिको रेकर्ड गर्ने गरी सीसीटीभीको अभिलेख कम्तीमा ६ महिना राख्नुपर्ने, तेस्रो पक्षसँग सम्झौता गरी क्यासिनो सञ्चालन गर्न नपाइने उल्लेख छ । 
इजाजत दिएको बाहेक अन्य स्थानमा क्यासिनो सञ्चालनमा प्रतिबन्ध, इजाजत प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभकर अग्रिम रूपमा कट्टी गरी लिनुपर्ने, आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजत प्राप्त कम्पनीले खेलाडीलाई लाभकर तिरेको प्रमाणपत्र दिई त्यसको विवरण सम्बन्धित आन्तरिक कार्यालयमा पठाएर विभागलाई जानकारी गराउनु पर्ने, इन्टरनेटमा आधारित वा अनलाइन माध्यमबाट खेल खेलाउन प्रतिबन्ध हुने, क्यासिनो तथा होटल परिसरभित्र तथा बाहिर पर्याप्त सुरक्षा प्रत्याभूति हुनुपर्ने, कानुन बमोजिम स्थानीय सुरक्षा निकायका निर्देशनको पूर्ण परिपालना गर्नुपर्ने लगायत निर्देशन गरेको छ ।
क्यासिनो अनुगमनका क्रममा उल्लेख्य व्यवस्था तथा सर्त पालना गरेको नपाइएमा कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ । डेढ साताअघि राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि गत बुधबार क्यासिनोलाई पत्राचार गरेर विभिन्न ९ बुँदामा विवरण र जानकारी माग गरेको थियो । राजस्व चुहावट कसुर/नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्षको विवरण तीन दिनभित्र पेस गर्न भनेको थियो ।
राजस्व अनुसन्धानले क्यासिनोले कुन प्रकारको इजाजत प्राप्त गरेको हो र अहिले भइरहेको खेलको विवरण, क्यासिनो नियमावली २०८२ को नियम १४ को उपनियम २ बमोजिमको विवरण, उक्त नियमावलीको नियम १८ बमोजिमको विवरण, नगद र वित्तीय कारोबारको विवरण, आकस्मिक लाभकर दाखिलाको विवरण, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ/छैन विवरण, सीसीटीभी क्यामेराको अभिलेख कम्तीमा ६ महिनासम्म राख्नुपर्ने नियम पालना छ/छैन र गत आर्थिक वर्षको करचुक्ता तथा चालु आर्थिक वर्षको इजाजतपत्र नवीकरणको विवरण पेस गर्न भनेको थियो ।
कार्यालयले माग गरेबमोजिम सीमित क्यासिनाले मात्रै उक्त विवरण कार्यालयलाई बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले क्यासिनो नियामक निकाय पर्यटन विभागले चासो दिएर क्यासिनोका कमी–कमजोरी हेरिरहेको बताए । ‘राज्यले नीति बनाएपछि सबैले पालना गर्नुपर्छ,’ उनले भने, ‘क्यासिनोको हकमा पनि त्यही हो । हामीले बैठकमा क्यासिनो सञ्चालक बोलाएर पनि निर्देशन दिएका छौं ।’ क्यासिनो नियमावलीले तय गरेका मापदण्ड र सर्त पालना गरेमा कमी–कमजोरीमा सुधार आउने उनले बताए । ‘समाजलाई प्रभावित गर्ने गरी कुनै क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने, ‘सुरक्षाको सवालमा प्रशासनले चासो दिन्छ ।’
नियमावली विपरीत क्यासिनोले टेबल राखेर जुवा खेलाउने र नेपाली प्रवेशको विषयमा गुनासो बढेपछि पर्यटन विभागले चासो देखाएको थियो । पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले क्यासिनोले नेपाली प्रवेश गराइरहेको गुनासो बढेको बताए । ‘सबैतिर नेपाली छिरेको गुनासो आइरहेको छ,’ उनले कान्तिपुरसित भने, ‘हामी सरोकारवालाबीच पनि कुरा उठेको छ ।’
जिल्ला प्रशासन स्रोतका अनुसार नियमावली अनुसार जिल्लामा संचालित कुनै पनि क्यासिनोले मापदण्ड पालना गरेका छैनन् । ‘हामीले अनुगमन त गरेका छैनौं,’ प्रशासनका एक अधिकृतले भने, ‘तर ५० प्रतिशत पनि मापदण्ड पालना गरिएको छैन भन्ने कुरा क्यासिनो सञ्चालकले नै स्वीकारेका हुन् ।’ उनका अनुसार क्यासिनोले नेपाली नागरिक प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरूको विवरण नराख्ने गरेको पाइएको छ । भैरहवास्थित क्यासिनो व्यवसायीले भने यस्ता गुनासाबारे प्रतिक्रिया दिन मानेनन् ।
झापामा ‘झैं–झगडा’
कोशी प्रदेशको राजधानी विराटनगरस्थित रत्ना होटलको क्यासिनोभित्र झिलिमिली बत्तीमुनि जुवाडेहरू दाउ खेल्दै रमाइरहेका थिए । केही बेरमै त्यो रमाइलो वातावरण एकाएक अशान्त बन्यो । विवादास्पद व्यवसायी अभिषेक गिरी र एमाले जिल्ला कमिटी सदस्य किरण लामाको समूहबीचको झडपले क्यासिनो नै कुटाकुटको मैदानमा परिणत भयो । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि, प्रहरी प्रशासनको मौनताले यस्तो गतिविधि खुलमखुला चलिरहेको छ ।
यो घटना त्यतिमा मात्रै सीमित छैन, क्यासिनोहरूमा चलिरहेको राजनीतिक संरक्षण, कानुनी उल्लंघन र आर्थिक अपराधको प्रतिरूप हो । प्रहरी पुग्दा दुवै समूह भागिसकेका थिए । यो झगडा व्यक्तिगत विवादले मात्रै निम्तिएको होइन । विराटनगर र पूर्वका सहरहरूमा वर्षौंदेखि नियमविपरीत संचालित क्यासिनोका कारण भएको हो । नेपाली नागरिकलाई क्यासिनो खेल्न निषेध छ । तर, पूर्वका सबै क्यासिनोका मुख्य ग्राहक नै नेपाली छन् । क्यासिनो खेल्ने क्रममा गिरी र लामा समूहबीच विवादपछि झडप भएको थियो । पूर्वमा संचालित क्यासिनोभित्र पटक–पटक यस किसिमका घटना हुँदै आएका छन् । कुनै घटना सतहमै आउँछन्, कुनै गोप्य नै राखिन्छ । विराटनगर मात्रै होइन, झापाको विर्तामोड, मेचीनगरको धुलावारी, काँकडभिट्टामा त कानुनको प्रत्यक्ष उल्लंघनै भइरहेको छ ।
झापामा दुई ठूला र दुई साना गरी चारवटा क्यासिनो संचालित छन् । काँकडभिट्टामा ह्याप्पीआवर र एसएस लङ मिनी क्यासिनो संचालित छन् । यी दुवै क्यासिनो अन्तर्राष्ट्रिय सीमा नाकाबाट केवल ५ सय मिटरभित्र छन् । तर, क्यासिनो सञ्चालन कार्यविधि २०७० ले सीमा नाकादेखि ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न निषेध गरेको छ । कानुनको त्यो रेखा यहाँ भने निरर्थक देखिन्छ । एक स्थानीय व्यवसायी भन्छन्, ‘हामीलाई सटर खोल्न पनि अनुमति चाहिन्छ, तर उनीहरू खुलेआम निषेधित क्षेत्रमा जुवाका खाल चलाइरहेका छन् ।’
