मन्त्री घिसिङका अनुसार, निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो ।
What you should know
काठमाडौँ — नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको ऊर्जामन्त्री कुलमान घिसिङले पुष्टि गरेका छन् ।
मन्त्री घिसिङका अनुसार, निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो ।
श्रेष्ठलाई तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । उनी निगममै कार्यरत रही अवकाश प्राप्त कर्मचारी पनि हुन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारपछि सकिएसँगै उनले उपनिर्देशक डोलेश्वर कोइरालालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएका थिए । तर नायब महाप्रबन्धक जनकराज कालाखेतीले वरिष्ठता आधारमा आफूलाई निमित्त दिनुपर्ने माग प्रधानमन्त्री तथा पर्यटन मन्त्रालयका कार्यभार सम्हालिरहेकी सुशीला कार्कीसमक्ष राखेपछि, कालाखेतीलाई निमित्त महाप्रबन्धक तोकिएको थियो ।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार कालाखेतीले इजरायली कम्पनीसँग रोकिएको इन्जिन भुक्तानीको समाधान गर्न नसक्ने जनाएपछि मन्त्रिपरिषद्ले नेतृत्व परिवर्तन गर्ने निर्णय गर्यो ।
स्रोतको भनाइ अनुसार, कालाखेतीले इजरायली कम्पनीलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न नसक्ने र त्यहाँ रहेको इन्जिन ल्याउन असमर्थता जनाएपछि वैकल्पिक नेतृत्व खोजिएको हो । अमृतमान श्रेष्ठले भने उक्त जिम्मेवारी पूरा गर्न सक्ने प्रतिबद्धता जनाएपछि उनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।
श्रेष्ठले अब निगममा अवरुद्ध रहेका इन्जिन भुक्तानी, लिज विवाद तथा अन्य प्राथमिक विषयमा तत्काल कदम चाल्नुपर्ने चुनौती स्वीकार गर्दै कार्यभार सम्हाल्नेछन् ।
सम्बन्धित समाचार
‘विवादास्पद’ क्याप्टेनलाई प्रधानमन्त्री कार्कीले गरिन् नेपाल एयरलाइन्समा विज्ञ नियुक्त
