सुदूरपश्चिमका उद्योगहरूको क्षमता उपयोग साढे ३४ प्रतिशत मात्र, झन्डै १५ सयलाई रोजगारी 

सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार आर्थिक वर्ष २०८१/८२ को चैत्रसम्ममा यस प्रदेशमा १ हजार ६ सय ३१ नयाँ उद्योग दर्ता भएका छन् ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Capacity utilization of industries in the Far West is only 34.5 percent, employing nearly 1,500 people.

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेशमा सञ्चालन भएका उद्योगहरुको क्षमता उपयोग घटेको छ । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार उक्त अवधिमा त्यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो घटेको हो ।

अध्ययनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशमा रहेका कंक्रिट, गहुँको पिठो, चामल उद्योगको अधिकतम क्षमता उपयोग भएको देखिएको छ । तर,  रोजिन, चिनी, साबुन उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग न्यून रहेको छ ।

रोजिन उत्पादन गर्ने उद्योग कामदारहरूको अभाव, कच्चा पदार्थ संकलनमा भएको कठिनाई, उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको कारण उत्पादन न्यून हुन गएको बताएको छ ।

पछिल्लो समयमा बजारमा देखिएको शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेकोले औद्योगिक क्षमता र उत्पादन दुवैमा कमी आएको देखिन्छ । अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार ४ सय ७७ जना रहेका छन् । जसमा ३ सय ४४ जना भारतीय नागरिक रहेका छन् । उद्योगले रोजगारी प्रदान गरिरहेकामध्ये ९०.९९ प्रतिशत पुरुष र ९.०१ प्रतिशत महिला रहेका छन् ।

सो अवधिमा समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण उद्योगहरुको उत्पादनमा ह्रास आएको देखिन्छ । जसअनुसार गहुँको पीठो उत्पादन ६५.०९, चिनी ६०.२२, इँटा ४२.८६, साबुन २३.८२, चामल १५.२५, रोजिन ६.८६, कंक्रिट ६.५९ र तोरीको तेल ४.३५ प्रतिशतले उत्पादनमा ह्रास आएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार आर्थिक वर्ष २०८१/८२ को चैत्रसम्ममा यस प्रदेशमा १ हजार ६ सय ३१ नयाँ उद्योग दर्ता भएका छन् । यसरी प्रदेशमा स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनसँगै उत्पादन बढाउन सके सुदूरपश्चिम प्रदेशको औद्योगिक विकासका साथै, रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अध्ययनले औल्याएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully