रेमिट्यान्समा कीर्तिमान, असोजमा मात्रै भित्रियो दुई खर्ब

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ।

मंसिर १, २०८२

सीमा तामाङ

Record in remittances, 200 billion rupees entered in Asoj alone

What you should know

काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सले कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम हालसम्मकै उच्च हो । यसअघि २०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो  ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

साउन–असोजसम्म रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स भित्रिने क्रम ३५.४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको थियो । 

राष्ट्र बैंकका अनुसार तीन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड र भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ थियो ।

रेमिट्यान्स भित्रिने क्रम बढ्दो, आन्तरिक माग कम, उपभोग कम हुँदा मुलुकमा तरलताको बाढी आएको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए । ‘मुलुकमा तरलताको बाढी छ, अर्कोतिर सरकारको खर्च बढ्न सकेको छैन भने निजी क्षेत्रले लगानी गर्न सकेका छैनन्,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिअनुसार आयातसमेत हुन सकेको छैन । जेन–जी आन्दोलनपछि निजी क्षेत्रको आत्मविश्वास घटेको छ ।’

वैदेशिक रोजगारीमा जानेक्रम बढिरहेकाले रेमिट्यान्स भित्रिने क्रम बढ्दो रहेको श्रेष्ठको भनाइ छ । ‘बढी मान्छेहरू विदेशिएका छन् । बढी रेमिट्यान्स भित्रिएको छ । बढी मानिस बाहिरिएपछि उपभोग कम भएको छ । कम उपभोग भएपछि माग कम भयो । माग कम भएपछि थप लगानी गर्नुपर्ने अवस्था रहेन,’ श्रेष्ठले भने, ‘माग नभएपछि किन उत्पादन गर्ने ? रोजगारी सिर्जना नहुने भयो । रोजगारी सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो । एक किसिमको चक्र नै बनेको छ । यसले अर्थतन्त्र, आन्तरिक उत्पादन र रोजगारी सिर्जना हुने अवस्था छैन । मुलुकको अर्थतन्त्र ‘डाउनवार्ड साइकल’तिर छ ।’

Record in remittances, 200 billion rupees entered in Asoj alone

चालु आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा देखिएको छ । जब कि गत आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो । मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८८ करोड बचत रहेको राष्ट्र बैंकले जनाएको छ । 

शोधनान्तर स्थिति बचतमा जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्दछ । रेमिट्यान्ससँगै निर्यात पनि बढेकाले मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति छ । रेमिट्यान्स बढिरहेको, आयात बढे पनि निर्यात उच्च दरले बढेको, पर्यटनलगायत क्षेत्र बिस्तारै सुध्रिँदै गएको लगायत कारण झन्डै तीन वर्षदेखि विदेशी मुद्रा सञ्चितिले कीर्तिमानी बनाउँदै आएको छ । चालु आर्थिक वर्षको साउन–असोज मसान्तसम्म २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ ।

विभिन्न किसिमको आन्दोलन, राजनीतिक अस्थिरताले थप प्रवर्द्धन गरिरहेको भन्दै छिट्टै सुधार भइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । ‘चुनाव हुन्छ या हुँदैन, अनि राजनीतिक माहोल कसरी अघि बढ्छ भन्ने एउटा पक्ष छ । निजी क्षेत्र पर्ख र हेरको अवस्थमा रहने होला,’ श्रेष्ठले भने, ‘चार–पाँच वर्षको अनुमान गर्न सक्ने माहोल हुने हो भने निजी क्षेत्रले लगानी गर्ने क्षमता राख्छ । ब्याजदर अति कम हुने लागेको र स्रोत पनि छन् । राजनीतिक स्थिरता हुन्छ कि भन्ने भइरहेका बेला दुर्भाग्य अब के हुन्छ वा अपेक्षा र अनुमान गर्न नसक्ने स्थितिमा पुगेका छौं । त्यसले लगानी सुधार हुने अवस्था देखिन्न ।’

अर्थतन्त्र तरलताको चापमा परेको स्थिति रहेको श्रेष्ठले बताए । ‘राजनीतिक परिवर्तन, सरकार परिवर्तन, आन्दोलन सामान्य थियो, यसले निजी क्षेत्रलाई धेरै प्रभाव पार्दैनथ्यो । तर पछिल्ला घटनाक्रमले निजी क्षेत्रलाई ‘हिट’ गरेको छ,’ उनले भने, ‘राजनीतिक अस्थिरताले सरकारको पुँजीगत खर्चलाई असर गर्ने भइहाल्यो । अहिलेको क्रान्तिले निजी क्षेत्रलाई पनि थप असर पारेको छ । त्यसले गाह्रो स्थिति बनाएको छ ।’

गत असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब बराबर रहेकोमा तीन महिनामा ११.३ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा मुलुकको सञ्चिति असार मसान्तसम्मको तुलनामा ८.७ प्रतिशतले बढेर साउन–असोज मसान्तसम्म २१ अर्ब २१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २४ खर्ब १४ अर्ब रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ बराबर छ । हालको विदेशी विनिमय सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

अन्तरिम सरकार चुनावको ‘म्यान्डेट’ लिएर आएकाले निजी क्षेत्रले लगानी गरे पनि कसले जिम्मेवारी लिने भन्ने प्रमुख विषय रहेको श्रेष्ठको भनाइ छ । ‘विकास निर्माणको ठेक्का प्रक्रियामा आमूल सुधार गर्नुपर्ने छ । त्यो सक्छ कि सक्दैन । अन्तरिम सरकारले कति पुँजीगत खर्च गर्न सक्छ,’ उनले भने, ‘अहिले भएको तरलतालाई सरकार र निजी क्षेत्रले प्रयोग गर्ने हो । सरकार नै अन्तरिम छ ।’ कोभिडपछि तरलता संकुचनको दबाबमा परेको निजी क्षेत्रले ‘ब्यालेन्स सिट’ मिलाइरहेका बेला थप असर परेको उनले बताए । 

‘तत्काल सुधार गर्ने उपाय कम छन् । यसका लागि सबै निकाय बसेर छलफल, सहमति गरी निजी क्षेत्रको आत्मविश्वास बढाउन लाग्नुपर्छ । २४ भदौमा जसरी अब उद्यम व्यवसायमा असर पर्दैन भन्ने खालका प्रतिबद्धता गर्न सक्नुपर्छ ।’ निजी क्षेत्रका लागि उपयुक्त अवस्थासमेत रहेकाले फेरि तरलता अन्यतर्फ बगेर जानेमा सजग हुनुपर्ने श्रेष्ठले जनाए । 

गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) १.४७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । 

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको औसत मुद्रास्फीति १.६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३, मरमसलाको ७.८२ र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully