धान बिक्रीका लागि पुगेका किसानबाट कुपनबापत रकम असुल्दै खाद्य डिपो

सरकारले निःशल्क कुपन वितरण गरे पनि कर्मचारीले रकम असुली गर्दै आएको किसानको गुनासो छ ।

कार्तिक ३०, २०८२

कमल पन्थी

Food depot collecting coupon money from farmers who have arrived to sell rice

What you should know

बर्दिया — खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरअन्तर्गत शान्तिबजार डिपोले कुपन वितरणबापत अवैध रकम असुलेको किसानले बताएका छन् । धान बिक्रीका लागि किसानलाई वितरण गरिने एक कुपन बापत डिपोले २५ रुपैयाँ असुलेको उनीहरुको भनाइ छ ।

'धान बिक्रीका लागि डिपोमा ल्याउँदा २५ रुपैयाँ दिएबापत मात्र कुपन मिल्ने गरेको छ,' गेरुवा गाउँपालिका–६ मनाउका किसान दीपनारायण श्रेष्ठले भने, 'कर्मचारीले २५ रुपैयाँ लिए पनि रसिद दिने गरेका छैनन् ।'

सरकारले निःशल्क कुपन वितरण गरे पनि कर्मचारीले रकम असुली गर्दै आएको किसानको गुनासो छ । गेरुवा–४ का महेश थारुले चाँडै पालो पाइन्छ भनेर २५ रुपैयाँ दिएर कुपन लिन बाध्य भएको बताए ।

यस सम्बन्धमा खाद्य तथा व्यापार केन्द्र राजापुरका प्रमुख कमल पाण्डेसँग बुझ्दा उनले भने, 'मैले पनि सुनेको छु । यसबारे जानकारी लिने काम भइरहेको छ ।'

खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले गत कात्तिक १९ देखि धान खरिद गर्दै आएको छ । यस वर्ष सरकारले मोटा धानको ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनोको ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully