बिहान २ बजेेदेखि किसानको भिड लागेपछि धान खरिदको टोकन अनिश्चितकालका लागि स्थगित

बिहान ७ बजेसम्म थेग्नै नसक्ने गरी किसान आएपछि भिड अनियन्त्रित भएको खाद्य व्यापार केन्द्रले जनाएको छ ।

कार्तिक २९, २०८२

कमल पन्थी

Token rice purchase postponed indefinitely after farmers throng market since 2 am

What you should know

बर्दिया — खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरमा किसानको भिड अनियन्त्रित भएपछि कुपन वितरण अनिश्चितकालका लागि स्थगन गरिएको छ ।

खाद्यले ३० जनाका लागि वितरण गर्ने कुपन लिन बिहानै २ बजेदेखि किसान लाइन लागेका थिए । ७ बजेसम्म ठूलो संख्यामा किसान आएपछि भिड अनियन्त्रित भएको खाद्य व्यापार केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख कमल पाण्डेले भिड व्यवस्थापन गर्न नसक्दा टोकन प्रणाली अनिश्चितकालका लागि रोकिएको बताए । 'बिहानदेखि लाइन लागेका ३० जना किसानलाई कुपन वितरण गरियो, किसान हुन् वा होइनन थाहा हुन सकेन । उनीहरुले खाद्यको मूलगेट तोडफोड गर्न थालेपछि कुपन वितरण रोकिएको हो,' उनले भने । खाद्य व्यापार केन्द्रले यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको छ ।

राजापुर–१ का किसान हरिप्रसाद थारुले बिहान २ बजेदेखि कुपनका लागि लाइन बसेको बताए । बर्दियामा करिब सवा दुई लाख क्विन्टल धान उत्पादन हुने गर्छ । सरकारले भने ३० हजार क्विन्टल खरिद गर्ने कोटा निर्धारण गर्दा अरु धान सस्तोमा व्यवसायीलाई बेच्नुपरेको उनले गुनासो गरे । 'न समयमा मलखाद पाइन्छ न त धान बिक्री गर्न किसानलाई सहस छ,' उनले भने ।

सरकारले धान खरिदका लागि कोटा बढाउनु पर्ने किसानको माग छ । केन्द्रले गत कात्तिक १९ देखि धान खरिद गर्दे आएको छ ।शनिबारसम्म करिब १० हजार क्विन्टल खरिद गरेको केन्द्रले जनाएको छ । यस वर्ष खाद्य केन्द्रले राजापुरबाहेक गुलरिया, शान्तिबजार र जयजगरमा धान खरिद डिपो स्थापना गरिएको छ । यस वर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully