सातौँ र आठौँ संस्करणमा घाटा बेहोरेको गोल्ड कप आयोजक समितिले यसपटक पहिलोपटक नाफा गरेको हो ।
विराटनगर — विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०८१ बाट आयोजक समितिले २ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ। विराट गोल्ड कप फुटबल ट्रस्ट विराटनगरको आयोजनामा सञ्चालित नवौँ संस्करणको प्रतियोगिताबाट उक्त रकम नाफा गरिएको आयोजना समितिका संयोजक नविन रिजालले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
गत वर्षको फागुन १९ देखि २८ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगिताबाट १ करोड ७ लाख रुपैयाँ आम्दानी भएको थियो। सो आम्दानीमध्ये १ करोड ४ लाख रुपैयाँ खर्च भएपछि प्रतियोगिताबाट २ लाख ९४ हजार रुपैयाँ नाफा रहेको रिजालले बताए।
उनले नाफामध्ये आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ थपेर जम्मा ४ लाख रुपैयाँको हिसाबकिताब विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीलाई हस्तान्तरण गरे।
सातौँ र आठौँ संस्करणमा घाटा बेहोरेको गोल्ड कप आयोजक समितिले यसपटक पहिलोपटक नाफा गरेको हो । विराट गोल्ड कप ट्रस्टले सातौँ संस्करण विराटनगर महानगरपालिकालाई जिम्मा दिएर आयोजना गराएको थियो भने आठौँ संस्करण ट्रस्टले आफैं सञ्चालन गरेको थियो।
