कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर मूल्य बढ्यो, १५८ को मूल्य घट्यो भने ७ को मूल्य स्थिर रह्यो । सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि नेप्सेमा दोहोरो अंकले गिरावट आएको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २०.५६ अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा मंगलबार ३.२१ अंकले बढेर २ हजार ५ सय ६५.१६ विन्दुमा बन्द भएको थियो । तर त्यो वृद्धि बुधबारसम्म पनि टिकेन ।
कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर मूल्य बढ्यो, १५८ को मूल्य घट्यो भने ७ को मूल्य स्थिर रह्यो । सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि नेप्सेमा दोहोरो अंकले गिरावट आएको हो ।
बुधबार कुल ६६ हजार ८ सय २४ पटकको सेयर कारोबारमा ८४ लाख ४ हजार ६ सय १६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम थोरैले बढेको हो । मंगलबार ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो । केही दिन मात्र सूचीकरण भएका सागर डिस्टिलरी, बुंगल हाइड्रो, बन्दीपुर केबलकारको सेयर मूल्य बुधबार १० प्रतिशतका दरले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लगाइएको थियो । उक्त दिन भूगोल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
