नेपालको मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय मान्यता

यो मान्यता चीनको गुइझो प्रान्तको गुइयाङ शहरमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेलकुद सम्मेलन–२०२५ मा प्रदान गरेको हो।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Nepal's Mundum Trek receives international recognition

What you should know

काठमाडौँ — पूर्वी नेपालको प्रख्यात मुन्दुम ट्रेल (पदमार्ग) ले अन्तर्राष्ट्रिय पहाडी पदयात्रा प्रदर्शन मार्ग (इन्टरनेश्नल माउन्टेन हाइकिङ डेमोस्ट्रेशन रुट)को मान्यता पाएको छ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल (नाट्टा) का अध्यक्ष कुमारमणी थपलियाका अनुसार, यो मान्यता चीनको गुइझो प्रान्तको गुइयाङ शहरमा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेलकुद सम्मेलन–२०२५ मा प्रदान गरिएको हो।

ईन्टरनेश्न माउन्टेन टुरीजम अलायन्सको आयोजनामा मंगलबारदेखि  पर्वतीय पर्यटन सम्बन्धी ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरणबाट गुणस्तरीय जीवन’ सम्मेलन चीनको गुइझो प्रान्तमा जारी छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पनि पहलमा प्रवर्दन  गरिएको मुन्दुम ट्रेल लाई प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपालले पर्वतीय पर्यटनमा रहेको  मौलिकता, सांस्कृतिक विविधता र दिगो पर्यटनप्रतिको प्रतिबद्धतालाई विश्वसामु उजागर गरेको जनाईएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नाट्टा अध्यक्ष थपलियाले नेपालका विविध प्राकृतिक भू–दृश्य, सांस्कृतिक सम्पदा र पर्यटनका सम्भावनाहरू विश्वभरका पर्यटन समुदायबिच प्रस्तुत गरेका थिए ।’मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुनु नेपालका लागि गर्वको विषय हो। यसले नेपालले प्रवर्द्धन गर्न खोजेको मौलिक, स्थानीय समुदायमा आधारित र दिगो पर्वतीय पर्यटनको अवधारणालाई विश्वसामु परिचित गराएको छ। यो नेपालका लागि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली पर्वतीय पर्यटनको गौरव हो,’ अध्यक्ष थपलियाले भने । 

यो ट्रेलले हिमाल, पहाड, र तराईबीचको अनौठो दृश्यात्मक सन्तुलन देखाउँछ। साल्पा पोखरी, सिलिचुङ डाँडा, सगरमाथा क्षेत्रका दृश्य र घना जंगलहरू यसका प्रमुख आकर्षण हुन्। 

कुल लम्बाइ करिब सय किलोमिटर रहेको यो ट्रेल पदयात्रीको रुचिअनुसार ६ देखि १० दिनसम्म पूरा गर्न सकिन्छ।यस्का मुख्य मार्गहरुमा साल्पा पोखरी, मैयुङ, दिप्रुङ, दोरपाखा, दिक्तेल, च्यास्मिटार, बखाचोल, चम्पादेवी, तावाखोला, सिलिचुङ, नेचा लगायतका स्थान पर्छन् ।

यो पदमार्गमा किराँत जातिको जीवनशैली, संस्कृति, लोककथा, परम्परा, र धर्मसँग सम्बन्धित स्थलहरू भेटिन्छन्।मुन्दुम ट्रेल पदयात्रीहरुले  ‘अथेन्टिक’ र ‘शान्तिपूर्ण’  मान्दछन । स्थानीय किराँत बस्तीहरू, झरना, डाँडा, र साँघुरो बाटाहरू पार गर्दै पदयात्रीले नेपालको मौलिक पहाडी संस्कृति नजिकबाट अनुभव गर्न पाउछन् ।

यो क्षेत्रमा २,५०० मिटरदेखि ४,२०० मिटर उचाइसम्मको भू–परिदृश्य छ । दुर्लभ वनस्पति, औषधिजन्य जडीबुटी र चराचुरुङ्गीका प्रजातिहरू समेटेको छ । सामुदायिक पहलमा विकसित गरिएको यो पदमार्गमा  स्थानीय (होमस्टे), परम्परागत खानपान, र सांस्कृतिक प्रस्तुतिको अनुभव गर्न पाईन्छ ।

कान्तिपुर

Link copied successfully