चार वर्षको कार्यकाल सकेर अधिकारी कार्तिक ७ गते अवकासमा गएपछि निगम निमित्तको भरमा चलिरहेको छ।
काठमाडौँ — नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत बिहीबार दरखास्त आह्वान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सूचना अनुसार योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।
सूचना अनुसार उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ र उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। साथै नागरिक उड्डयन, पर्यटन, व्यवस्थापन, अर्थशास्त्र सम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्ष उच्च स्तरको व्यवस्थापकीय अनुभव भएको स्नातकोत्तर उपाधि हासिल भएको हुनुपर्छ।
दरखास्त दिने प्रक्रिया, योग्यता, परीक्षा विधि, पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको छ।
निगमका तत्कालीन महाप्रबन्धक दिमप्रसाद पौडेललाई २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बर्खास्त गरेपछि निगमको महाप्रबन्धक पद रिक्त थियो। त्यसबेला निगमको दैनिक कार्य सञ्चालन गराउन उक्त सरकारका पर्यटन मन्त्री प्रेम आलेले नेकपा समाजवादीको कोटाबाट युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए।
चार वर्षको कार्यकाल सकेर अधिकारी कार्तिक ७ गते अवकासमा गएपछि निगम निमित्तको भरमा चलिरहेको छ।
