रेसुंगा विमानस्थलमा सातामा ४ उडान

निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय र गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३ सय भाडादर निर्धारण गरेको छ ।

कार्तिक २७, २०८२

रासस

4 flights per week at Resunga Airport

गुल्मी —  रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुंगा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रूपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए । 

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।     

नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो ।

सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय र गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३ सय भाडादर निर्धारण गरेको छ । 

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ । 

रासस

Link copied successfully